अछाम घटनाः सीआईबी र प्रदेश प्रहरीले पनि अनुसन्धान गर्ने
पोस्टमार्टम सकियो, अनुसन्धान नहुँदा शव नबुझ्ने आफन्तको अडान
२०८१ माघ १५
अछाममा शुक्रबार बेपत्ता भएका दुई किशोरी शनिबार मृत अवस्थामा भेटिए पछी प्रहरीले थप अनुसन्धान गर्ने भएको छ ।
शुक्रबार बाख्रा चराउन गएका ढकारी गाउँपालिका- ८ पल्साताका १४ वर्षीया इसरा खड्का र १५ वर्षिया सरस्वती खड्का मृत भेटिएका थिए। घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले थप अनुसन्धान गर्ने भएका छन् । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको छ।
प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सईको नेतृत्वमा टोली खटाइएको छ । जसमा एक जना पोलिग्राफ गर्ने असई पनि छन् । यस्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही घटना सम्बन्धमा अछाम जाने भएका छन् ।
अछाम जिल्ला अस्पतालबाट किशोरीहरूको शव पोस्टमार्टमका लागि सोमबार भेरी अस्पताल नेपालगञ्जमा पठाइएको थियो । पोस्टमार्टम सकिए पनि रिपोर्ट आउन बाँकी रहेको अछाम प्रहरीले जनाएको छ । केही दिनमा रिपोर्ट आउने र पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप तथ्य बाहिर आउने डीएसपी भण्डारीको भनाइ छ ।
प्रहरीले पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइने भने पनि आफन्तले घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुई जना नियन्त्रणमा छन् । उनीहरूको पहिचान खुलाइएको छैन । अन्य केही व्यक्तिहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया