00:00:00
राष्ट्रिय

अछाम घटनाः सीआईबी र प्रदेश प्रहरीले पनि अनुसन्धान गर्ने

पोस्टमार्टम सकियो, अनुसन्धान नहुँदा शव नबुझ्ने आफन्तको अडान
मंगलबार माघ १५, २०८१/ Tuesday 01-28-25

२०८१ माघ १५

  अछाममा शुक्रबार बेपत्ता भएका दुई किशोरी शनिबार मृत अवस्थामा भेटिए पछी प्रहरीले थप अनुसन्धान गर्ने भएको छ ।

शुक्रबार बाख्रा चराउन गएका ढकारी गाउँपालिका- ८ पल्साताका १४ वर्षीया इसरा खड्का र १५ वर्षिया सरस्वती खड्का मृत भेटिएका थिए।  घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले थप अनुसन्धान गर्ने भएका छन् । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सईको नेतृत्वमा टोली खटाइएको छ । जसमा एक जना पोलिग्राफ गर्ने असई पनि छन् । यस्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही घटना सम्बन्धमा अछाम जाने भएका छन् ।

अछाम जिल्ला अस्पतालबाट किशोरीहरूको शव पोस्टमार्टमका लागि सोमबार भेरी अस्पताल नेपालगञ्जमा पठाइएको थियो । पोस्टमार्टम सकिए पनि रिपोर्ट आउन बाँकी रहेको अछाम प्रहरीले जनाएको छ । केही दिनमा रिपोर्ट आउने र पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप तथ्य बाहिर आउने डीएसपी भण्डारीको भनाइ छ ।

प्रहरीले पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइने भने पनि आफन्तले घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुई जना नियन्त्रणमा छन् । उनीहरूको पहिचान खुलाइएको छैन । अन्य केही व्यक्तिहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया