00:00:00
स्थानिय

चौथो समपुर्ण कपको उपाधी झरना स्पोट्र्स क्लवलाई 

साविक विजेता सिम्रिकले उपविजेता मै चित्त बुझायो
शनिबार मङ्सिर ७, २०८२/ Saturday 11-22-25

प्रकाश पाण्डे । मंसीर ६ गते । चौथो समपुर्ण कपको उपाधी झरना स्पोट्र्स क्लव कुन्जलापुरले जितेको छ । शनिबार तिलोत्तमा १४ स्थित समपुर्ण युवा क्वलको खेल मैदानमा साविक विजेता सिम्रिक युथ क्लव बुटवललाई २ का विरुद्ध ३ गोलले स्तब्ध पार्दै झरनाले चौथो समपुर्ण कपको उपाधी कब्जा गरेको हो । उपाधीसँगै झरनाले नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए । यसैगरि उपविजेता मै चित्त बुझाएको सिम्रिकले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिए ।

झरनाको जीतमा जर्सी न ६ का खेलाडी राम थापा नायक बने । उनले टिमका लागी ब्यक्तिगत २ गोल गर्दा जर्सी न १० का विक्की चाम्लिगँ राईले थप १ गोल गरे । यसअघि खेल शुरुवातको चौथो मिनेटमा सिम्रिकको तर्फबाट जर्सी न १० का खेलाडी सन्दिप चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको २६ औं मिनेटमा झरनाका लागी विक्कीले पहिलो गर्दै गोल संख्या बराबरी पारे । पहिलो हाफ एक एक को बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५६ औं मिनेटमा राम थापाले झरनाका लागी गोल थपे । उनले प्रहार गरेको बलले विपक्षी खेलाडीको खुट्टामा लागेर सिधै जाली चुमेको थियो ।

तर झरनाको यो खुसी १ मिनेट पनि टिक्न सकेन । खेलको ५७ औं मिनेटमा सिम्रिकका लागी जर्सी न १४ का अभिषेक महतोले गोल गर्दै स्कोर बराबरी बनाए । दुई दुई गोलको बराबरी स्थितिलाई चिर्दै खेलको इन्जुरी समयमा झरनाका लागी राम थापाले विजयी गोल प्रहार गरे । डि बाहिरबाट उनले हानेको लामो प्रहारको बलले सिधै जाली चुमेको थियो । प्रतियोगितामा झरनाका टोपबहादुर रानाले उत्कृष्ट गोलकिपरको उपाधी सहित नगद रु ८ हजार ५ सय नगद जिते ।

आयोजक समपुर्ण युवा क्लवका खेलाडी सन्देश केसीले उदयीमान खेलाडी तथा विजेता टोली झरनाका विक्की चाम्लिगँ राईले हाई स्कोररको उपाधी सहित नगद रु ८ हजार ५ सयका दरले नगद पुरस्कार पाए । यसैगरि झरनाका खेलाडी जितेश गुरुगँले प्रतियोगिता कै उत्कृष्ट खेलाडीको उपाधी सहित नगद रु १५ हजार हात पारेको प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए । यसअघि कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले मन्तब्य दिदै तिलोत्तमाको शानका रुपमा रहेको समपुर्ण युवा क्लवको खेल मैदानलाई स्तरउन्नति गर्न नगरपालिकाले सहयोग गर्ने बताइन ।

उनले समपुर्ण युवा क्लवले आयोजना गरेको प्रतियोगिता चौथो सस्करणसम्म आइपुग्दा थप परिमार्जित भएको भन्दै खुसी ब्यक्त गरिन ।  प्रतियोगिता समापनका अपसरमा तिलोत्तमा वडा न १४ का अध्यक्ष आश्विन पौडेल, जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष तथा तिलोत्तमा नगर खेलकुद विकास समिति संयोजक लोक पुन, सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी, जनप्रतिनिधी, समाजसेवी एवं दर्शक सर्मथक लगायतको उल्लेख्य सहभागिता रहेको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिए । गत कार्तिक २५ गतेबाट शुरु भएको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका  गरि १२ टोलीको सहभागिता रहेको थियो । 
 

तपाईको प्रतिक्रिया