आयोजकलाई स्तब्ध पार्दै मोन्स्टर गाईजले जित्यो २४औं लिस्नु कपको उपाधि
कोटिहवा । मोन्स्टर गाईज सुनवलले आयोजक लिस्नु युवा क्लबलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्दै २४औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। तिलोत्तमा–१५ कोटिहवामा आइतबार भएको फाइनलमा मोन्स्टरले आयोजकमाथि एकतर्फी दबाब कायम राख्दै पहिलोपटक लिस्नु कप आफ्नो नाममा लेखाएको हो।
मोन्स्टरको जितमा बिक्की चाम्लिङ राई र बिन्देले दुई–दुई गोल गरे। कप्तान सवी गुरुङ र सामुएल सुनारले समान एक गोल थपे। आयोजक लिस्नुका गणेश हमाल र सुशिल राईले गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन सकेनन् . उपाधिसँगै मोन्स्टर गाईजले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता लिस्नुले २ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मोन्स्टरका सदिप केसी सर्वश्रेष्ठ खेलाडी घोषित भए। उनले २५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे । अन्य विधामा पनि मोन्स्टरकै खेलाडीको दबदबा रह्यो। उत्कृष्ट गोलरक्षक प्रतिक सुनार, उत्कृष्ट रक्षक सिलाह र सर्वाधिक गोलकर्ता बिक्की चाम्लिङ राई बने। लिस्नुका सुशिल राई उत्कृष्ट मिडफिल्डर तथा विश्व थापा मगर उदियमान खेलाडी घोषित भए। विधागत उत्कृष्ट खेलाडीले जनही ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । समापन समारोहमा तिलोत्तमा–१५ का वडाध्यक्ष खेमराज गुरुङ, वडा सदस्य, वडा सचिव मानबहादुर खाती, सह–प्रायोजक ठाकुरप्रसाद गुरुङ, पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ तथा आयोजक क्लबका अध्यक्ष तीर्थराज मल्ललगायतले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गरे।
फाइनल हेर्न पुगेका दर्शकका लागि आयोजकले टिकटमार्फत साइकल पुरस्कारको समेत व्यवस्था गरेको थियो। गोलाप्रथाबाट एक दर्शकलाई साइकल प्रदान गरिएको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया