विपद् प्रभावितका लागि प्याब्सन रुपन्देहीको राहत कोषमा ५० लाखभन्दा बढी सहयोग
तिलोत्तमा । भदौ २० गते । भोटेकोशी, त्रिशूली लगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले सञ्चालन गरेको राहत अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । प्याब्सन केन्द्रको परिपत्रअनुसार प्याब्सन रुपन्देहीको आह्वानमा सदस्य विद्यालयहरूले प्याब्सन रिलिफ फण्डमा सहयोग रकम जम्मा गरेका हुन् ।
भदौ १९ गते शुक्रबारसम्म राहत कोषमा रु. ५० लाख ३ हजार ७ सय ७८ जम्मा भएको प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सदस्य विद्यालयहरूले देखाएको एकता, सद्भाव, सहयोगी भावना र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्याब्सन रुपन्देहीले प्रशंसा ब्यक्त गरेको छ ।
प्याब्सन रुपन्देहीले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालय तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको जनाएको छ । यसैबीच, हालसम्म राहत कोषमा सहयोग रकम जम्मा गर्न बाँकी रहेका सदस्य विद्यालयहरूलाई भदौ २२ गतेभित्र प्याब्सन रिलिफ फण्डमा सहयोग रकम जम्मा गरिदिन प्याब्सन रुपन्देहीले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया