00:00:00
स्थानिय

डब्लु,डब्लु जे रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

‘सङ्घर्षशील पत्रकार महिला सम्मानबाट भगवती पाण्डे सम्मानित
आइतबार भदौ ७, २०८३/ Sunday 08-23-26

तिलोत्तमा,७ भाद्र । 
क्रियाशील पत्रकार महिला (डब्लु,डब्लु जे) रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । संस्थाको १६औँ साधारण सभा तथा चौथो अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो  ।

जसको उपाध्यक्षमा हरिकला अधिकारी,सचिव बिन्दु भट्टराई,कोषाध्यक्ष सावित्रा अर्याल,सहसचिव कमला अर्याल,सदस्यमा मनीषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका छन् ।
यसैविच साधारणसभाको अवसरमा डब्लु. डब्लु. जे. ले सङ्घर्षशील पत्रकार महिला सम्मान समेत गरेको छ । डब्लु. डब्लु. जे. रुपन्देहीका अध्यक्ष कल्पना तिवारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहँदै उल्लेखनीय योगदान पुर्याएकी पत्रकार भगवती पाण्डेलाई ‘सङ्घर्षशील पत्रकार महिला सम्मान’बाट सम्मानित गरिएको हो । 

कार्यक्रममा बोल्दै बुटवल नगर प्रमुख खेलराज पाण्डेले पत्रकारिता क्षेत्रमा परेको सङ्कटका विषयमा छलफल गरी समाधानतर्फ लाग्न आग्रह गरे । नगरप्रमुख पाण्डेले सञ्चार क्षेत्रको विकास र महिला पत्रकारहरूको क्षमता अभिवृद्धिमा उपमहानगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको बताए । 

डब्लु. डब्लु. जे. रुपन्देहीका सचिव विन्दु भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, जिल्ला अध्यक्ष दिनेश पाण्डे, संचारीका समुह लुम्विनी प्रदेशका उपाध्यक्ष अमृता अनमोल,नेपाल प्रेस युनियन  रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल लगायतका वक्ताहरुले महिला पत्रकारहरूको हकहित र क्षमता विकासका लागि महासंघ प्रतिबद्ध रहेको जनाए । 
 
संस्थाका अध्यक्ष कल्पना तिवारीले संस्थाको कार्यसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला पत्रकारहरूको क्षमता तथा नेतृत्व विकास,नीतिगत पैरवी र समाचार लेखनमा संस्थाले जोड दिने बताईन्  ।
संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक हरिकला अधिकारीको स्वागत तथा  सचिव बिन्दु भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार सम्बद्ध संस्थाका अध्यक्ष एवं प्रतिनिधि,सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि र रुपन्देहीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया