00:00:00
स्थानिय

यस वर्ष पनि पाउने भए तिलोत्तमाबासिले निःशुल्क रगत

बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26

बिन्दु भट्टराई,तिलोत्तमा २८ श्रावण । 

तिलोत्तमा नगरपालिकाले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले तिलोत्तमा नगरका नागरिकहरुलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने उद्धेश्यले यस वर्षका लागि नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रबिच बिहिबार सम्झौता गरेको हो ।

गत वर्ष १ हजार ८ सय २६ युनिट रगत खपत भएको थियो । भने यस वर्ष नगरपालिकाले रक्तसञ्चार सेवा बुटवल भैरहवालाई रगत सङ्कलन कार्यका लागि भन्दै २० लाख रकम विनियोजन गरेको छ ।  नगरबासिहरूको रगत अभावका कारण स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका प्रति व्यक्ति आवश्यक परेमा २० युनिट सम्म रगत उपलब्ध गराउने गरी यस वर्ष पनि संझौता गरिएकोे तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँड, तिलोत्तमाको स्वास्थ्य शाखाका प्रमुख ज्ञानप्रसाद पौडेल,रामप्रसाद ढकाल,लक्ष्मि आचार्य,नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्याय, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा रुपन्देही शाखाका कोषाध्यक्ष अर्जुनराज उपाध्याय,नेपाल रेडक्रस सोसाईटी तिलोत्तमा पालिका शाखाका सभापति कुलप्रसाद लामिछाने लगायतविच सम्झौता आदानप्रदान गरिएको हो । यो सम्झौताको अवधि २०८४ असार मसान्तसम्म रहनेछ ।

निःशुल्क रगत सेवा लिने व्यक्ति तिलोत्तमा नगरपालिकाको बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात नागरिकता, मतदाता, परिचय–पत्र, चालक अनुमति पत्र, राहदानी पत्र आदि को प्रतिलिपि विरामीका आफन्तले रक्तसंचार सेवामा रगत वा रक्ततत्व लिन आउँदा पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

तपाईको प्रतिक्रिया