00:00:00
स्थानिय

२६औँ स्थापना दिवसमा काउन तिलोत्तमा नगर समितिको रक्तदान

१०१ पिन्ट रगत संकलन
सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26

तिलोत्तमा । साउन २५ गते । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) तिलोत्तमा नगर समितिले आफ्नो २६ औँ स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा सोमबार तिलोत्तमा–शंकरपुरस्थित संघको आफ्नै भवनमा आयोजित रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । तिलोत्तमा नगर समिति अध्यक्ष गमबहादुर थापाको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमको उद्धभाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले काउनले सामाजिक सेवाका क्षेत्रमा देखाएको सक्रियता महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आम श्रमिकको आवाज बुलन्द गर्दै श्रमिकको हकहित र अधिकारका लागि संघले निर्वाह गर्दै आएको भुमिकालाई सबैले मनन गर्नुपर्ने बताउनुभयो ।  रक्तदानसँगै काउन तिलोत्तमा नगर समितिले स्थापना दिवसकै अवसरमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिका–९ का वडाध्यक्ष ध्रुव न्यौपाने, काउन केन्द्रीय सदस्य सुशील घिमिरे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, क्लब, आमा समूह, जनप्रतिनिधि तथा श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । काउनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक कार्य मार्फत मनाउने उद्धेश्य अनुरुप मंगलबार सरसफाइ कार्यक्रम गर्ने जनाएको छ । काउन केन्द्रीय सदस्य सुशील घिमिरेको स्वागत तथा संघका सचिव देवबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया