00:00:00
शिक्षा

न्यु इन्भाइरन्मण्ट माविमा नमुना संसद कार्यक्रम 

विद्यार्थीले देखाए लोकतान्त्रिक अभ्यासको जीवन्त प्रस्तुति
शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

प्रकाश पाण्डे । साउन २२ गते । लोकतान्त्रिक अभ्यास, संसदीय प्रक्रिया र नेतृत्व विकासबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले रूपन्देहीको तिनपा–५, मणिग्रामस्थित न्यु न्यु इन्भाइरन्मण्ट माविमा नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूले नेपालको प्रतिनिधिसभाको बैठकलाई जीवन्त रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री, मन्त्री, सभामुख, सरकार पक्षका सांसद तथा प्रतिपक्षी सांसदको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा सभामुखले संसद बैठक सञ्चालन गरेका, सांसदहरूलाई बोल्ने अवसर प्रदान गरेको, मन्त्रीहरूले संसदका प्रश्नको जवाफ दिएको, विभिन्न विधेयक प्रस्तुत गरिएको तथा ती विधेयकमाथि प्रतिपक्षी सांसदहरूले समर्थन र विरोध दुवै पक्षबाट धारणा राखेको दृश्य प्रस्तुत गरिएको थियो। यसैगरी विरोध, रोष्ट्रम, नाराबाजी तथा संसदीय बहसका अन्य प्रक्रियासमेत विद्यार्थीहरूले अभ्यास गरेका थिए । कार्यक्रममा उपस्थित सबैले केही समयका लागि वास्तविक प्रतिनिधिसभा बैठकमै सहभागी भएको अनुभूति गरेका थिए ।

विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले विद्यार्थीमा नेतृत्व क्षमता, तार्किक बहस गर्ने सीप, सार्वजनिक अभिव्यक्ति, निर्णय क्षमता, लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रक्रियाप्रतिको बुझाई अभिवृद्धि लगायत विद्यार्थीहरुलाई सानैदेखि जिम्मेवार नागरिक बनाउने उद्देश्य कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । वहाँले शिक्षालाई पुस्तकमा सीमित नराखी व्यवहारिक अभ्याससँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल भएको बताउनुभयो ,। विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
 

तपाईको प्रतिक्रिया