तिलोत्तमा राईडर्सद्धारा दोस्रो कोरा च्यालेन्ज सफलतापुर्वक सम्पन्न,४ जिल्लाका २ सय बढी सहभागी
स्वस्थ र वाताबरण संरक्षणमा साईकल प्रयोग बढाउन जरुरी – प्रमुख खाँड
बिन्दु भट्टराई,तिलोत्तमा ३ श्रावण ।
तिलोत्तमा राईडर्सले दोस्रो तिलोत्तमा कोरा च्यालेन्ज २०८३ सफलतापुर्वक सम्पन्न गरेको छ । तिलोत्तमाको धार्मिक,सांस्कृतिक तथा पर्यटन पर्वद्धनमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।
तिलोत्तमाको ड्राईभरटोलदेखि सुरु गरिएको राईड बौद्धगुम्बा,वडा नम्बर ८ को तिलोत्तमा गौशाला,भुपुसैनिक चोक, मंगलापुर जोडिने भाईरल रोड,१४ नम्वर वडामा अवस्थित बाउन्नकोटी मन्दिर,मोक्षधाम,कुञ्जापुरको कुञ्जपार्क,तिलोत्तमा पार्क,शंकरनगरमा अवस्थित बुद्ध विहार लगायतका स्थानलाई विश्राम स्थान बनाईएको थियो र ति स्थानमा तिलोत्तमा राईडर्सलाई भव्य स्वागत गरिएको थियो ।
राईडर्सले यस्तै विभिन्न स्थानको परिक्रमा गरि होटल टुलिपमा कार्यक्रमको समापन गरेको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले तिलोत्तमाको गरिमालाई उचाई दिन तिलोत्तमा राईडर्सले खेलेको भुमिकाको प्रशंसा गर्दै जस्तोसुकै सहयोगका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा विश्व साईकिल यात्री,सगरमाथा आरोही पुष्कर शाहको पनि उपस्थिति रहेको र उहाँले आत्मविश्वासले शाहस जन्माउने भएकोले धैर्यता र आत्मविश्वासलाई बलियो बनाउन सुझाव दिनुभयो । उहाँले तिलोत्तमाको माया र सम्मानले आफ्नो उर्जामा थप भएको भन्दै धन्यवाद दिनुभयो ।
तिलोत्तमा राईडर्सका उपाध्यक्ष क्याप्टेन कृष्णबहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रममा कार्किले तिलोत्तमालाई विश्वभर नमुना पालिकाको रुपमा विकास गर्न यो क्लवले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष शंकर मल्ल,सचिव सुवास थापा,कोषाध्यक्ष दिपक भट्टराई लगायतले मानवता जगाउनु र तिलोत्तमाका विशेष स्थानहरुको पर्वद्धन गर्ने कार्यक्रमको उद्धेश्य रहेको बताउनुभयो । २ सय भन्दा बढी सहभागीले राईड गरेको कार्यक्रममा रुपन्देही बाहेक ४ जिल्लाबाट सहभागिता जनाएका थिए । करिव ५५ किलोमिटर राईड गरिएको कार्यक्रममा १२ वर्ष भन्दा मुनिका ६ जना बालक र ७ जना महिलाको सहभागिता रहेको थियो भने अरु सहभागी पुरुष थिए । उक्त कार्यक्रमको संचालन पत्रकार बिन्दु भट्टराईले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया