तिलोत्तमा नगरपालिकाको “कमाउँदै पढ्दै” कार्यक्रम:
पशुपति माविमा हेयर कटिङ तालिम सुरु
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा तिलोत्तमा–१५ स्थित पशुपति माध्यमिक विद्यालयमा “कमाउँदै पढ्दै” कार्यक्रम अन्तर्गत ७ दिने हेयर कटिङ तालिम सुरु गरिएको छ। अध्ययनसँगै सीप विकास गर्दै विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सुरु गरिएको यस कार्यक्रमले विद्यालयमै व्यावहारिक शिक्षा दिने नयाँ अभ्यासको सुरुवात गरेको छ।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले यस्तो कार्यक्रमले विद्यार्थीको भविष्यमा नयाँ अवसर खोल्ने विश्वास व्यक्त गरे। उनले भने, “तिलोत्तमा नगरपालिकाको सहयोगमा सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीहरूमा आत्मनिर्भर बन्ने नयाँ अवसरको ढोका खोल्ने विश्वास लिएका छौं।”
त्यस्तै सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेञ्चुरीले विद्यार्थीहरूलाई सानै उमेरदेखि सीपसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए। उनले भने, “विद्यार्थीहरूलाई सानै उमेरदेखि सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ‘कमाउँदै पढ्दै’ कार्यक्रम सञ्चालन गरिएको हो।”
विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईले विद्यालयमै सैलुन कक्ष स्थापना गरेर तालिम सञ्चालन गरिएको जानकारी दिँदै व्यवहारिक शिक्षाले विद्यार्थीको भविष्य उज्ज्वल बनाउने बताए। उनले भने, “विद्यार्थीहरूलाई व्यवहारिक सीप प्रदान गर्न विद्यालयमै सैलुन कक्ष स्थापना गरी तालिम सञ्चालन गरिएको हो। यसले उनीहरूको भविष्यमा स्वरोजगारको बाटो खोल्नेछ।”
विद्यालय परिसरमै व्यवस्थित रूपमा सञ्चालन गरिएको तालिममा प्रशिक्षकको मार्गदर्शनमा विद्यार्थीहरूले प्रत्यक्ष अभ्यास गरिरहेका छन्। हेयर कटिङ सामग्री, सैलुन सेटअप तथा अभ्यास सत्रहरूले वातावरणलाई जीवन्त बनाएको छ।
“कमाउँदै पढ्दै” कार्यक्रमले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी आत्मनिर्भर र उद्यमशील बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस्तो सीपमूलक पहलले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारी र भविष्यप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्ने विश्वास लिइएको छ।
तपाईको प्रतिक्रिया