न्यु लाइट कलेजमा क्यारियर काउन्सिलिङ कार्यशाला
कार्यक्रममा ५०० बढी विद्यार्थीको उत्साहजनक सहभागिता
प्रकाश पाण्डे । चैत ११ गते — रुपन्देहीको तिलोत्तमास्थित न्यु लाइट कलेजले विद्यार्थीलाई आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउने उद्देश्यका साथ एक दिने प्रभावकारी क्यारियर काउन्सिलिङ कार्यशाला सम्पन्न गरेको छ । स्नातक तह अन्तर्गत बीबीएस र बीएड अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा करिब ५०० विद्यार्थीको उत्साहजनक सहभागिता रहेको क्याम्पस प्रमुख रमेश ज्ञवालीले जानकारी दिए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका सहायक निर्देशक दीपक पराजुलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन, स्वरोजगारी, रोजगारी सृजना लगायतका समसामयिक विषयमा आ आफ्ना अनुभव, संघर्ष र ज्ञानललाई सहभागीहरू समक्ष साझा गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि पराजुलीले नेपाल राष्ट्र बैंकको भूमिका, वित्तीय साक्षरताको महत्व तथा बैंकिङ क्षेत्रमा रोजगारी प्राप्त गर्ने उपायबारे जानकारी गराएका थिए ।
त्यसैगरी, बुटवल हस्पिटल प्रालिका वित्तीय व्यवस्थापक सीए फर्सुराम भण्डारीले स्वरोजगारका सम्भावना, करियर सुरु गर्दा ध्यान दिनुपर्ने पक्षहरू र आफ्नो अनुभव प्रस्तुत गरेका थिए । आईटी विज्ञ शिशिर ढकालले वर्तमान समयमा सूचना प्रविधिको बढ्दो महत्व र बीएड तथा बीबीएसका विद्यार्थीका लागि यसको प्रभावकारिता बारे जानकारी गराएका थिए । त्यस्तै, वरिष्ठ फार्मा मार्केटिङ विज्ञ कुसुम थामी मगरले रोजगारी खोज्ने तरिका र बजार निर्माणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेका थिए ।
कार्यक्रममा कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले न्यु लाइट कलेजले विद्यार्थीको क्षमता अनुसार रोजगारी सृजना, स्वरोजगार प्रवद्र्धन तथा ‘जब रिप्लेसमेन्ट’को अवधारणामा काम गर्दै आएको धारणा व्यक्त गरे । अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यशालामा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, रुचि र समस्याहरू खुला रूपमा राखेका थिए । सो अवसरमा बोल्ने बक्ताहरुले यसखाले कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्दै भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएको कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले दिए । कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक शिव शर्मा र ज्योति गुप्ताले गरेका थिए ।
तपाईको प्रतिक्रिया