00:00:00
स्थानिय

वनवाटिकाको १५ औं साधारणसभा सम्पन्न 

बुधबार माघ १, २०८२/ Wednesday 01-14-26

तिलोत्तमा । पौष ३० गते । शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एवं पुर्व मन्त्री भगवती घिमिरेले नेपाल कै उत्कृष्ट पार्कहरु मध्ये एक वनबाटिकाले गौरव गर्न लायक काम गरिरहेको भन्दै खुशी ब्यक्त गर्नुभयो । वहाँले पार्कको पूर्वाधार विकासमा केन्द्रका पदाधिकारीहरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउदै पर्यटकका लागी मात्र नभई अध्ययन अनुसन्धानका लागि समेत वनबाटिकाको विकाश गर्न आवश्यक रहेको बताउनुभयो । वहाँले यसका लागि प्रदेश सभाबाट आवश्यक कानुन बनाउनेतर्फ समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुइँटेलले देशभरका पार्क समितिहरुलाई संगठित गर्दै पार्कहरुको ब्यवस्थापनमा जोड दिने गरि अघि बढिरहेको बताउनुभयो । लुइँटेलले पार्कहरुको सौन्दर्य बृद्धि, वातावरण संरक्षण र मानव स्वास्थ्यका लागि हरेक वडामा उद्यान बनाउनु आजको मुल आवश्यकता रहेको बताउनुभयो । 
कार्यक्रममा वनबाटिकाका अध्यक्ष खिमलाल पाण्डेयले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै प्रत्येक वर्ष पर्यटक भित्रिने दर बढ्दो अवस्थामा रहेको बताउनुभयो । गत आर्थिक वर्षमा ३ लाख ५६ हजार १ सय ९ जना पर्यटकहरु बनबाटिका घुम्न आएको भन्दै उहाँले यो वर्ष अझ बढ्ने अनुमान गरिएको बताउनुभयो । केन्द्र परिसरमा कार्यालय सभाहल, शहिद पार्क, चिडियाघर, बालउद्यान, बाल रेल, पुस्तकालय, बिपी बाटिका, पुष्पलाल पार्क, पिकनिक स्पट, थारु संग्राहलय, मन्दिरहरु गरि कुल २४ वटा विभिन्न संरचनाहरु निमार्ण भएको पाण्डेले जानकारी दिनुभयो ।
नेकपा माओवादीका नेता एवं शहीद पार्क विकास समितिका वसन्त श्रेष्ठ प्रज्ज्वलनले वनवाटिका राष्ट्रिय स्तर मै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको बताउनुभयो । कार्यक्रममा शहिद स्मृति विकास समिति पार्क संरक्षक बसन्त कुमार श्रेष्ठ, शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेत लगायतले बोल्दै कंक्रिट भन्दा पनि प्राकृतिक हिसाबका पुर्वाधार निर्माणमा जोड दिनुभयो । बनबाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा सचिव बिदुर केसीले सन्चालन गर्नुभएको थियो । शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (बनबाटिका) मा ७१५ जना आजिवन सदस्य, ६६ जना साधारण सदस्य गरि कुल ७८१ जना सदस्य आवद्ध रहेका छन भने ३३ जना स्थानियले प्रत्यक्ष रोजगारी पाएका छन ।  
 

तपाईको प्रतिक्रिया