भारतमा हुने १७ औं अन्तर्राष्ट्रिय कराँतेमा नेपाली खेलाडीले प्रतिष्पर्धा गर्ने
तिलोत्तमा । पौष ८ गते । आगामी पौष १४ र १५ गते अर्थात यही डिसेम्बर २९ र ३० तारिखमा भारतको पुनेमा हुन गैरहेको १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पीयनसीप–२०८२ मा नेपाली खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । जापान गोजुरियो कराते डो. मिसन संघ, नेपालको नेतृत्वमा नेपाली कराँते टीमले सो प्रतियोगितामा भाग लिने संघले मंगलबार रुपन्देहीको भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. राना (काजी) का अनुसार प्रतियोगितामा २२ जना खेलाडी, अफिसियल र सञ्चारकर्मीसहित २८ जनाको टोली भारत जाने तयारीमा छ ।
विगतका प्रतियोगितामा जस्तै यस वर्ष पनि नेपाली कराँते खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्ण पदक जितेर नेपालको नाम उचो बनाउने रानाले विश्वास व्यक्त गर्नुभयो । पुस ९ गते बुधबार तिलोत्तमा नगरपालिका प्रमुख र उपप्रमुखले खेलाडीलाई नेपालको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । संघका प्रमुख सल्लाहकार भरत बहादुर के.सी.ले जापान गोजुरियो कराते डा. मिसन संघ, नेपाल संघर्षमै हुर्किएको संस्था भएको बताउनुभयो । उहाँले मित्रराष्ट्र भारतमा हुने प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।
संघका केन्द्रीय सचिव गिरी प्रसाद पुनले कराते पुस ११ गते बिहीबार बिहान १० बजे बेलहिया नाकामा बिदाई कार्यक्रमपश्चात टोली भारत प्रस्थान गर्ने जानकारी दिनुभयो । संघका केन्द्रीय सदस्य उमेश थापा लाटोमगरले सन् २००३ सालदेखि जापान गोजुरियो कराते डा. मिसन संघ, नेपालको टीम अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा निरन्तर सहभागी हुँदै आएको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी लुम्बिनी प्रदेशबाट रहेका छन् ।
तपाईको प्रतिक्रिया