सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
तिलोत्तमा,२३असोज ।
सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । यसअघि भदौ १६ गतेको साधारण सभा तथा सातौ अधिवेशनले अध्यक्ष ध्रुव कुमार धितालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति र मिना भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको थियो । यसैअनुरुप बिहिबार नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र सहित बधाई तथा शुभकामना संगै पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरपालिकाले सिंचाइ,नदि कटान र नदिजन्य वस्तुको विक्री वितरणमा समेत सहयोग हुने गरि नगरपालिका लागेको बताउनुभएको छ । सिमित स्रोत साधनका कारण समस्या झेल्नुपरेको भने नगरप्रमुख खाँणको भनाई छ । “स्थानीय तहमा आर्थिक स्रोत सिमित छ, काम ठुला छन् समस्या छ खाँणले भन्नुभयो । यसैकारण पनि सिंचाई प्रणालीहरु,स्थानिय सरकार ,संघ प्रदेश सरकार सिंचाइस्ंग सम्बन्धित प्रतिनिधि लगायतको समन्वय र सहाकार्यको बिकल्प नभएकोमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख सम्भुराज पंडितले कृषिमा कृषकको आकर्षण घटेको र सिंचाई गर्ने किसान कम हुँदै गएको भन्ने भाष्य सहि नभएको उल्लेख गर्नुभयो ।
त्यस्तै सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका भेषराज भुसालले स्थानीय तहसंग सहकार्य गरेरै कार्य संचालनमा ध्यान दिने प्रतिबद्धता जनाउँदै मुलुकको परिस्थितिलाई मध्यनजर गरेर विनियोजित बजेटको शिघ्र कार्यान्वयनतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ध्रुव कुमार धितालले आफ्नो कार्याकालमा गर्नुपर्ने काम योजनाका बिषयमा बोल्दै कसरी सिंचाईलाई आधुनिकिकरण गर्दै किसानका समस्यालाई उचित व्यवस्थापन गर्न सकिन्छ त्यसतर्फ लाग्न नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
निर्वाचन समिती सदस्य सुखदेव न्यौपानेको सभापतित्व,निर्वाचन समिति सदस्य कृष्ण प्रसाद पौडेलको स्वागत र सचिव अर्जुनराज उपाध्यायको संचालनमा भएको कार्यक्रममा प्रणालीका निवर्तमान अध्यक्ष यज्ञ गैरेले अघिल्लो कार्यकालको समीक्षा गर्दै आगामी योजना कार्यान्वयनमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
तपाईको प्रतिक्रिया