सिद्धबाबामा ५० हजार दर्शनार्थी सहभागी गराउने तैयारी
तिलोत्तमा । फागुन १३ गते । सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सो अवसरमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी पनि गरिएको छ । महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्था समेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर निर्धक्क भै पूजाआजा गर्न सक्नेछन् । दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निरन्तर निगरानी गर्ने अध्यक्ष शेरचनले बताए ।
उनका अनुसार सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । गतवर्षको शिवरात्रीमा ३५ हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै अध्यक्ष शेरचनले यो वर्ष ५० हजार बढी भक्तजन भित्र्याउने गरी तयारी गरिएको बताए । भक्तजनहरूलाई दर्शनका लागि बिहान ४ बजेदेखि नै मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए ।
विगतमा भक्तजनहरु २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसबर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रमै दर्हन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था मिलाइएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले बताए । बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् ।
भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने लम्सालले बताए । सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको अध्यक्ष शेरचनले बताए । धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरुसँगै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।
तपाईको प्रतिक्रिया