00:00:00
स्थानिय

तिलोत्तमामा एच पि भि खोप अभियान शुभारम्भ,८ हजार भन्दा बढी किशोरी लाभान्वित हुने

बिहीबार फाल्गुण १, २०८१/ Thursday 02-13-25


बिन्दु भट्टराई, तिलोत्तमा १ फागुन ।
तिलोत्तमा नगरपालिकामा एच पि भि खोप अभियानको उद्घाटन गरिएको छ । तिलोत्तमा १० मा अवस्थित जनहित माध्यमिक विद्यालयबाट बिहिबार खोपको उद्धघाटन गरिएको हो । तिलोत्तमाका ७० वटा विद्यालयमा यो खोप संचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले १० देखि १४ वर्षसम्मका किशोरी लक्षित खोप अभियान संचालन गरेअनुरुप तिलोत्तमामा पनि कक्षा ६ देखि १० कक्षासम्मका करिव ८ हजार ६ सय ३२ किशोरी लाभान्वित हुने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विश्वमा नसर्ने रोगको प्रकोपका कारण लाखौ मानिस प्रभावित भएको भन्दै रोकथामका लागि यो अभियान प्रभावकारी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले सरकारले निकालेको तथ्यांकअनुसार पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको उल्लेख गर्दै न्युनिकरणका लागि यो अभियान सुरु गरिएको बताउनुभयो । उहांले सबैलाई लाभ लिन आग्रह समेत गर्नुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चिन्तामणी ज्ञवालीले विश्वमा ५लाख ७० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट ग्रसित भएको उल्लेख गर्दै दैनिक ४ जनाको मृत्यु हुने गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सेमरा बजार स्वास्थ्य चौकिका प्रमुख कमलप्रसाद पाण्डेले तिलोत्तमा नगरपालिकामा स्वास्थ्यमा सकरात्मक संकेत देखिएको दावी गर्नुभयो ।  तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका छैँठौ अधिकृत रामप्रसाद ढकालले संचालन गर्नुभएको कार्यक्रममा तिलोत्तमा वडा नम्बर १० का वडा अध्यक्ष गोपाल घिमिरे,वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक लगायतको उपस्थिति रहको थियो । भने सेमरा बजार स्वास्थ्य चौकिका रमा पन्थ र  निर्मला पन्थीले खोप सहजीकरण गर्नुभएको हो ।    


 

तपाईको प्रतिक्रिया