00:00:00
शिक्षा

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

विद्यार्थीहरुलाई नैतिकवान बनाउने विद्यालयको मुख्य ध्येय
शनिबार माघ १९, २०८१/ Saturday 02-01-25

प्रकाश पाण्डे । माघ १९ गते ।

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विभिन्न तीन चरणमा शुक्रबार र शनिबार विविध कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न गरिएको विद्यालयका सहप्राचार्य ध्रुव खरेलले जानकारी दिनुभयो । तीन सत्रमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्ने विद्यालयको योजना अनुरूप माघ १८ गते शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीको प्रस्तुति, दिउँसो कक्षा ४ सम्मका विद्यार्थीहरुको विभिन्न प्रस्तुतीसंगै शनिबार कक्षा ५ देखि १० कक्षासम्मको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रस्तुति पस्केका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले विद्यालयको प्रगति दिनप्रतिदिन चुलिदो रहेको बताउनुभयो । वहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्ब्ल बनाउने गरि पठन पाठन गराउदै आएको जनाउनुुभयो । वहाँले आध्यात्मिक शिक्षा तथा पञ्चशीललाई ग्रहण गर्दै विद्यार्थीहरुलाई नैतिकवान बनाउने विद्यालयको मुख्य ध्येय रहेकोबताउनुभयो । अक्षय कोषदाता, शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थी लगायतलाई सम्मान गरिएको कार्यक्रममा छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपानेले विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यसहित ३ चरणमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको बताउनुभयो । २ दिनसम्म चलेको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक गीत सँगीत, नृत्य, भाषणकला, कविता वाचन, वाद्यवादनसँगै गितार प्रस्तुति, कराते प्रदर्शन, पेनिका प्रस्तुति, नाटक, प्रहसन लगायतका विभिन्न प्रस्तुतिमा आफुलाई निखारेका थिए । न्यू इन्भाईरन्मन्ट मा.वि. मा कुल २ हजार ७० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
 

तपाईको प्रतिक्रिया