नारायणगढ–बुटवल सडक ठेक्काको म्याद सकिन लागेपछि बल्ल काम
परासी २०८१ माघ ०६
तेस्रो पटक थप भएको म्याद सकिन सात महिना मात्र बाँकी रहँदा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको कामलाई तीव्रता दिइएको छ । म्याद थप भएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिएको हो ।
अहिले दुवै क्षेत्रमा कालोपत्र गर्ने, कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम भइरहेको छ । सडक विस्तार सुरु भएको ६ वर्षयताकै अहिले सबैभन्दा रफ्तारमा काम भइरहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजना कार्यालयले जनाएको छ ।
अहिले पूर्वी खण्डको गैंडाकोटदेखि दाउन्नेसम्म १६ स्थानमा कालोपत्रको तयारी गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो। ‘सडक विभागले अन्तिम चेतावनी दिएको र हरेक महिना लक्ष्य अनुसार काम गर्न कडाइसाथ निर्देशन दिएपछि ठेकेदारले कामलाई तीव्रता दिएको छ,’ इन्जिनियर खनालले भने, ‘अबको एक महिनामा यात्रुलाई महसुस हुने गरी कामको प्रगति देखिनेछ ।
पश्चिम खण्डमा पश्चिम नवलपरासीको सुनवल, भूमही, बर्दघाट र रूपन्देही क्षेत्रमा कालोपत्रको तयारी भइरहेको छ । परामर्शदाता कोरियन कम्पनीले ठेकेदारलाई चेतावनी पत्र (नोटिस टू करेक्ट) पठाएर मंसिर २५ गतेसम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्र र चैत १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म १ सय १६ किलोमिटरमा एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने सर्त राखेको थियो ।
तपाईको प्रतिक्रिया