काठमाण्डौ २०८१ पौष २८
बर्दियामा बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको छ।
खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्याएको थियो । ठाकुरबाबा नगरपालिकाका मेयर तिकराम लम्सालले बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीसहितकाे टाेली लिएर बाघले आक्रमण गरेकाे ठाउँदेखि झन्डै ७ सय मिटरभित्र गएर शव ल्याएकाे बताउनुभयो । शव पाेस्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशाेक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टाेली खटिसकेकाे छ । ढाटलगायतका अन्य प्रविधिको प्रयाेगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयाे ।
गएको साउन यता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणमा परेर तीन जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले उज्यालोलाई जानकारी दिनुभयाे
तपाईको प्रतिक्रिया