00:00:00
स्थानिय

भलवारी जेसीजको २२औं पदस्थापनमा तिलोत्तमा रक्तदाता समाजलाई सम्मान

सोमबार पौष २२, २०८१/ Monday 01-06-25

प्रकाश पाण्डे
तिलोत्तमा २०८१ पौष २२

  सामाजिक कार्यहरुलाई थप गति र निरन्तरता दिने प्रतिबद्धतासहित भलवारी जेसीजको २२ औं पद हस्तान्तरण एवम् पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ७ भलवारीस्थित सुनगाभा रिसोर्टमा शुक्रवार एक कार्यक्रमका बीच बर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष जेसी मिन तिवारीले पदभार ग्रहण गरे ।

सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष जेसी तिवारीले जेसीजले विधिको शासन कायम गर्ने मूल उद्देश्यअनुसार भलवारी जेसिजले काम गरिरहेको बताए । उनले भलवारी जेसीजबाट समाज तथा अन्य क्षेत्रले धेरै विषयहरू सिक्नुपर्ने भन्दै समाज रुपान्तरणमा भलवारी जेसीजको महत्वपुर्ण भूमिका बिगतमा पनि रहेको र अब पनि रहने प्रस्ट पारे ।

तिलोत्तमा रक्तदाता समाजका संस्थापक अध्यक्ष गोविन्द बन्जाडे, जेसिजका निवर्तमान तथा पुर्व अध्यक्ष, समाजसेवी, सदस्य लगायतको सहभागिता रहेको पदस्थापन कार्यक्रममा छिमेकी शाखाहरू तथा तिनका पदाधिकारी लगायतको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच भलवारी जेसिजले तिलोत्तमा रक्तदाता समाजलाई सम्मान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनालाई आत्मसात गर्दै अघि बढेको तिलोत्तमा रक्तदाता समाजले खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको भलवारी जेसीजले जनाएको छ ।

कार्यक्रममा तिलोत्तमा रक्तदाता समाजका सँस्थापक अध्यक्ष गोविन्द बन्जाडेले मानवसेवा र त्यसमा रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अघि बढेको सँस्थालाई सम्मान गरिएकोमा भलवारी जेसीजलाई धन्यवाद दिए । अध्यक्ष बन्जाडेले तिलोत्तमा रक्तदाता समाजले सामाजिक कार्यमा देखाएको क्रियाशिलतालाई अन्य सँघसँस्थाले पनि अपनाउनुपर्ने बताए । 
 

तपाईको प्रतिक्रिया