00:00:00
स्थानिय

मानवसेवा आश्रमद्धारा तिलोत्तमामा महायज्ञ , सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी

शुक्रबार पौष १९, २०८१/ Friday 01-03-25

तिलोत्तमा,१९ पुस ।
मानवसेवा आश्रमले तिलोत्तमामा महायज्ञ गर्ने भएको छ । आश्रमले मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष वृद्धिका लागि आगामी माघ ७ गतेदेखि १४ गतेसम्म तिलोत्तमा–५ मणिग्राम प्रदर्शनी स्थलमा महायज्ञ गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

 आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले भवनमा सडकआश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने जानकारी गराउनुभयो । हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगसमेत सञ्चालन गरिने सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने अधिकारीले बताउनुभयो । 

तिलोत्तमा–५ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानव सेवा आश्रमका महासचिव शुसीला के.सी.ले जानकारी गराउनुभयो । देशका विभिन्न स्थानमा यज्ञ सम्पादन गरेको आश्रमले तिलोत्तमामा सातौँ महायज्ञ गर्न लागेको महासचिव केसीको भनाई छ ।  
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष गणेश पाठकले मानव सेवा आश्रमले मानवताका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै महायज्ञमा सवैले सहयोग गर्नुपर्ने खांचो औँल्याउनुभयो । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको संस्थाकी लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीले जानकारी दिनुभएको छ  । देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको व्यवस्थापन गरिने उहाँले बताउनुभयो । महायज्ञ सम्पन्न गर्न ३५ लाख बढी खर्च अनुमान गरिएको छ । आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । निर्माणाधिन आश्रमको भवन निर्माण सम्पन गर्न ५ करोडभन्दा बढी खर्च भइसकेको र थप २ करोड लाग्ने अनुमान गरिएको संस्थाका अभिभावक एवम् महायज्ञ मूल आयोजक समितिका संयोजक लोकनाथ भुसालले बताउनुभयो । 

हालसम्म आश्रमको केन्द्रीय अक्षकोषमा ५ करोड रकम जम्मा भएको र रुपन्देहीमा ३५ लाख रुपैयाँ पुगेको छ । ०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको र सातवटै प्रदेशका २० जिल्लामा २४सेवा केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया