आज सोमबारे औँसी, तीर्थ अर्थात् गया श्राद्ध पनि आजै मनाईदै
तिलोत्तमा २०८१ पौष १५
आज सोमबारे औँसी, बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँसीका दिन आज परे जस्तै सोमबारे औँसी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ । हरेक महिनामा आउने औँसीलाई विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ । माता, पिता नहुनेले औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि सोमवार परेको औँसी विशेष मानिन्छ । यसैगरी आज हरेक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवम् तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।
दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिन्छ। सौरमासअनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरू हुन्छ । उत्तरायण शुरू हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।
वैदिक सनातन धर्मावलम्बीले सके हरेक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ । आज काठमाण्डौको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी तथा नुवाकोट र रसुवाको सङ्गममा रहेको वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको घुइँचो लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध भनिन्छ ।
तपाईको प्रतिक्रिया