तिलोत्तमा । असार १० गते । रुपन्देहीको तिलोत्तमा ५ स्थित मणिग्राममा रहेको क्रिमसन अस्पतालमा अनलाइन ओपिडी टिकट सेवा शुभारम्भ भएको छ । अनलाइन टिकट सेवा सञ्चालनसँगै अब सेवाग्राहीले टिकट कै लागि लाइनमा कुरे्र बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । समय र प्रविधिको उच्चतम विकास तथा विस्तारलाई मध्यनजर राख्दै सेवालाई चुरुत दुरुस्त एवं समानुकुल बनाउने क्रममा अनलाइन ओपिडी टिकट सेवा शुरु गरिएको अस्पतालका निर्देशक डा शेखरप्रसाद पोखरेलले जानकारी दिए ।
यो सुविधा प्राप्तिका लागी सेवाग्राहीले ईसेवा र खल्ती एपको इन्टरनेट ब्राउजरमा गई क्रिमसन अस्पताल टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिमा आफुले चेकजाँच गराउन चाहेको डाक्टरको विवरण अनि आफुले चेकजाँच गराउन चाहेको समय, समस्या, परामर्श तथा सेक्टर लगायतका विषयहरु समेत एपमा रहेको चिकित्सकीय विभाग मार्फत जानकारी हासिल गर्न सकिने छ ।
यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गरेपछि अहिले सफल तथा नियमित रुपमा थप व्यवस्थित गर्दै अगाडी बढाइएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्वास्थ्य सेवालाई थप गुणस्तर, सुविधा सम्पन्न र समयसापेक्ष बनाउने अभियान अन्र्तगत अनलाइन ओपिडी टिकट सेवा शुभारम्भ गरिएको बताए । उनले नयाँ नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच बढाउन अहिले अस्पतालमा नयाँ नयाँ सेवा थप गरिनुका साथै प्रविधिहरु भित्रयाइएको जानकारी दिए ।
ओपिडीतर्फ रु १०० मै टिकट काटेर सर्वसुलभ स्वास्थ्य चेकजाँचको ब्यवस्था रहेको अस्पतालमा २२ जना कन्सल्टेन्ट चिकित्सकहरु एवं २४ जना जनरल चिकित्सक सहित ३५० बढी कर्मचारीबाट सेवा प्रवाह भैरहेको अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराईले भट्टराईले जानकारी दिए । उनले निकट भविष्यमा क्यान्सर उपचार पनि अघि बढाउने लक्ष्य अस्पतालको रहेको बताए । अस्पतालमा हाल अत्याधुनिक न्युरो सेवा संचालनमा रहेको छ भने हालै मात्र नया सेवाका रुपमा ब्रोन्कोस्कोपी सेवा शुरु गरेको अस्पतालले निकट भविश्य मै एमआर सेवा सेवा संचालनको तयारी समेत गरेको छ ।
हाल अस्पतालले १६ स्लाइंसको सिटी स्क्यान मेसीन हटाएर अत्याधुनिक १६० स्लाईसको सिटी स्क्यान मेसीनबाट सेवा प्रवाह गरिरहेको छ । अस्पतालले यसै वर्षदेखी सामाजिक सुरक्षा कार्यक्रम समेत लागू गरेको छ । अस्पतालमा निशुल्क डायलोसिस सेवा, एन्जिओप्लास्टि र एन्जिओग्राफीमा सरकारबाट दिईने १ लाख रुपैया बराबर छुटको ब्यवस्था रहेको छ । अस्पतालबाट एमडी, डिएम गरेका चिकित्सकहरुबाट सेवा प्रवाह भैरहेको छ ।
तपाईको प्रतिक्रिया