रुपन्देहीमा जेठ १३ गतेदेखि ‘आईपीभी’ खोप अभियान ,करिब ७० हजार बालबालिकालाई लगाउने लक्ष
भैरहवा, ५ जेठ । बिन्दु भट्टराई
रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ । रुपन्देहीका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपीभी खोप लगाइने भएको हो । शुक्रबार भैरहवामा पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया मार्फत खोप अभियान दुई चरणमा सञ्चालन हुने जानकारी गराईएको छ । २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका ती बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जेठको १३ देखि १६ गतेसम्म प्रथम चरणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह, ओमसतिया गाउँपालिका, रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकामा खोप लगाइने बताउंदै सैनामैना नगरपालिकामा भने जेठ १४ देखि १७ गतेसम्म खोप लगाइने जानकारी दिनुभयो । यसैगरी जेठ २० देखि २३ गतेसम्मको दोस्रो चरणमा गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने ढकालले जानकारी दिनुभयो ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रिसव श्रेष्ठले बताउनुभयो । उहांका अनुसार खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा तालिम सञ्चालन भइरहेको छ । श्रेष्ठले सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट संक्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । खोप लगाउन रुपन्देहीमा ८५६ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया