तिलोत्तमा ६ मा पाठेघर स्कृनिङ भिआईए जाँच, ३१५ जना महिला लाभान्वित
तिलोत्तमा ३ जेठ । बिन्दु भट्टराई
महिलाका लागि पाठेघर स्कृनिङ भिआईए जाँच तथा स्त्रीरोगसम्बन्धि निशुल्क स्वास्थ्य शिविर तिलोत्तमा वडा नं. ६ मा बुधबार सम्पन्न भएको छ । वडाका महिलाहरुलाई लक्षित गरी तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरको उद्धघाटन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले विगत तीन वर्षदेखि नगरपालिकाका १७ वटै वडामा यो सेवा दिदै आईरहेको र वर्षेनी नगरपालिकाले वजेट छुट्याउंदै आएको बताउनुभयो । चौधरीले यसरी गरिएको चेकजांचबाट नगरभित्रका धेरै महिलाहरुले प्रतक्ष लाभ लिएको दावी गर्नुभयो । उहांले धेरैमा क्यान्सर समेत देखिएको भन्दै उपचार गर्न पछाडि पर्न नहुने उल्लेख गर्नुभयो । जाँच गरेपछि केही देखिए अन्य उपचार प्रकृयामा लाग्न सजिलो हुने र केही नभए ढुक्क हुने हुनाले सबैलाई लाभ लिन अनुरोध गर्नुभयो ।
तिलोत्तमा वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पाठकले क्यान्सर रोग सरुवा रोग नभएपनि त्यसरी नै फैलिएको बताउंदै प्रारम्भमै उपचार पाए अकालमा मर्नु नपर्ने उल्लेख गर्नुभयो ।तिलोत्तमाका जनस्वास्थ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले स्वास्थ्यलाई सामान्य रुपमा नहेर्न आग्रह गर्नुभएको शिविरमा लुम्विनी प्रादेशिक अस्पतालका प्रसुती रोग विशेषज्ञ डा. वर्षा पौडेलले महिलाहरुको स्वास्थ्य चेकजाँचमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा महिलामा पाठेघरको मुख र स्तन क्यान्सरको पहिचान गरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको तिलोत्तमा नगरपालिकाका नर्सिंग अधिकृत लक्ष्मी आचार्यले बताउनुभयो । उहांले शिविरमा वडा नं. ६ का ३१५ जना महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी गराउनुभयो । आचार्यको अनुसार स्क्रिनिङ गरिएका मध्येमा ६ जनामा भिआइए पोजेटिभ देखिएको र १ जनामा सर्वाइकल क्यान्सर देखिएको छ भने आङ खसेका ३ जना,यु टी आई ७० जना ,पिआईडि समस्या ८० जनामा देखिएको छ । सर्वाइकल क्यान्सर देखिएका महिलालाई भरतपुर पठाइएको छ ।
तपाईको प्रतिक्रिया