तिलोत्तमा ६ मा वडा अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम
प्रकाश पाण्डे । चैत्र ६ गते । तिलोत्तमा नगरपालिका वडा नंं ६ ले जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य चेकजांच गर्नुका साथै निशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ । ‘वडा अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत आनन्दवन स्वास्थ्य चौकीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य चेकजांचको आयोजना गरिएको हो । तिलोत्तमा वडा नं ६ को आयोजना र आनन्दवन स्वास्थ्य चौकीको सहयोगमा मधुवन टोल विकाश संस्थामा आवद्ध ४९ जना जना जेष्ठ नागरिकले निशुल्क सेवा लिएका छन ।
सो अवसरमा २५ जना जेष्ठ नागरिकको स्वास्थ्य विमा समेत गरिएको आनन्दबन स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिनुभयो । गिता मन्दिर परिसरमा आयोजित शिविरको उद्घाटन गर्दै वडाअध्यक्ष गणेश पाठकले, मानवीय सेवा र त्यसमा पनि जेष्ठ नागरिकको सेवा नै सर्वोत्तम धर्म भएकाले वडाले विभिन्न समयमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य चेकजांच गर्दै आएको जानकारी दिनुभयो ।
अध्यक्ष पाठकले आनन्दवन क्षेत्रभित्रका विभिन्न टोल विकाश संस्थामा आवद्ध जेष्ठ नागरिकहरुलाई क्रम्ैसँग निःशुल्क स्वास्थ्य उपचार तथा औषधी वितरण गर्दै आएको र यो क्रम निरन्तर जारी रहने बताउनुभयो । वहाँले सडक कालोपत्रे गरेर मात्रै विकाश नहुने भन्दै भौतिकतासँगै मानवीय विकाश पनि आजको मुख्य आश्यकता रहेको औल्याउनुभयो ।
लुम्विनी प्रादेशिक अस्पतालबाट आउनुभएका चिकित्सक डा प्रेम प्रसाद पौडेलले जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरि सहयोग पुर्याउनुभएको कार्यक्रममा वढा सदस्य सीता खनाल, पुर्ण प्रसाद आचार्य, गिता गन्धर्व, गोविन्द रिजाल, टोल विकासका वडा संजाल संयोजक घनश्याम भूषाल, मधुवन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र भट्टराई, सुन्दर टोल विकास संस्थाका अध्यक्ष देवी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
यसैबीच सोही कार्यक्रममा जेष्ठ नागरिकका लागी वित्तिय साक्षरता कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्रभु बैंकको आयोजना रहेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई वित्तिय साक्षरताका विभिन्न विषयवस्तुमा प्रशिक्षित गराइएको हो ।
तपाईको प्रतिक्रिया