नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै
फ्रेन्चाइज टोली बुटवल लुम्बिनीको जर्सी सावर्जनिक
तिलोत्तमा । मंसिर ८ गते । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार आज दशरथ रंगशालामा भव्य उद्घाटन हुनेछ। प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ ।
पहिलो संस्करण कोभिड संक्रमणको समयमा बिना दर्शक आयोजना भएको थियो । आज हुने उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले प्रस्तुती दिनेछन् । यसपटक गत संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल संख्या पनि बढेको छ। अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरि ९ टोलीले ४० खेल खेल्नेछन्।
उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने आयोजकले जनाएको छ । एनएसएलले यसपटक आइएमइ पेसँग सहकार्य गर्दै टिकट अनलाइन बिक्री सुरु गरिसकेको छ। रंगशालाको सामान्यतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ। सबै खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने आयोजकले जनाएको छ।
यसैबीच फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले दोस्रो संस्करणका लागि आफ्नो जर्सी सावर्जनिक गरेको छ । बिहीबार बुटबलले होम एन्ड अवे जर्सी सावर्जनिक गरेको हो । एरिक विष्ट मार्की रहेको बुटवलले आशिष लामालाई आइकोनिक खेलाडीका रूपमा भित्र्याएको छ । टोलीको प्रशिक्षण विजय महर्जनले सम्हालेका छन् ।
बुटवलले शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ । बुटवल यशोदा फुड्सको करेन्ट तयारी चाउचाउ र एमडिएसी स्पोर्टस्को स्वामित्वमा रहेको टोली हो । क्लबलाई करेन्ट चाउचाउले टाइटल स्पोन्सर गरेको छ ।
तपाईको प्रतिक्रिया