मैनादेवी अनाथ आश्रम तिलोत्तमा ६ मा आजबाट महायज्ञ शुरु हुदै
तिलोत्तमा । मंसीर १ गते । तिलोत्तमा–६ मा अवस्थित रामचन्द्र मैनादेवी अनाथ आश्रममा आजदेखि श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ हुने भएको छ । आश्रमलाई दीगोरुपमा चलाउन स्थापना गरिएको अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित महायज्ञ सञ्चालन गर्न लागिएको आश्रमकी सञ्चालिका मैनादेवी भण्डारीले बताउनुभयो ।
अक्षयकोषको रकम एक करोड पुगेको खण्डमा आश्रममा कम्तीमा दुई जना कर्मचारी राखेर आश्रमलाई थप व्यवस्थित रुपले सञ्चालन गर्ने योजना रहेको भण्डारीले बताउनुभयो । आश्रमममा २५ जना अनाथ बालक राख्न सकिने भौतिक पुर्वाधार भएपनि कर्मचारी राख्न नसक्दा अहिले १२ जना मात्र राखिएको आश्रमकी संचालिका भण्डारीको भनाई छ ।
आज बाजागाजासहित वृहत कलश यात्रा गरिने र कलश यात्रापछि तिलोत्तमाका मेयर रामकृष्ण खांणले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको छ् । आगामी मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा प्रेमसुदन शाष्त्री प्रमुख कथावाचकको रुपमा रहनुभएको छ भने निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने कार्यक्रम रहेको छ ।
साथै ७ जना कलाकारको टोलीले झांँकी, लिला सहित गीत र नृत्यमार्फत मनोरन्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसंग सहकार्य गरेको छ । अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिने पवित्र र महान कार्यमा समर्पित मैनादेवीले एक हप्तासम्म चल्ने महायज्ञमा उपस्थित भई गच्छे अनुसार दान र सहयोग गरिदिन सबैमा अनुरोध गरेकी छन् ।
तपाईको प्रतिक्रिया