हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अर्थात यमपञ्चक सुरु
आज धनतेरस पर्व मनाइँदै
तिलोत्तमा । कार्तिक २४ गते । हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार (दीपावली) अर्थात यमपञ्चक आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ ।
दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् ।
मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।
पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास रहिआएको छ ।
तपाईको प्रतिक्रिया