00:00:00
स्थानिय

बुटवलका मेयर र प्रमुख प्रशासकीय अधिकृत बीच विवाद

प्रशासकीय अधिकृत भुसाल काठमाडौं प्रस्थान, आजको बैठक अनिश्चित
बुधबार कार्तिक २२, २०८०/ Wednesday 11-08-23

बुटवल । कार्तिक २२ गते । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीच विवाद भएपछि आज बुधवार हुने भनिएको कार्यपालिका बैठक प्रभावित भएको छ । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल हिजो मङ्गलवार नै काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित बनेको हो ।

मेयरको दबाबमा परेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । मेयर पाण्डेयकै जोडबलमा भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आउनुभएको थियो । छोटो समयमै भुसालले बुटवल छाड्ने निर्णयले पनि दुबै बीच विवाद रहेको अनुमान गर्न सकिन्छ । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा दुबैबीच विवाद उत्पन्न भएको हो ।

स्रोतका अनुसार मङ्गलवार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर आपसी सहमतिमा वितरण गर्न दबाब दिएको प्रस्तावमा असहमति जनाउँदै भुसालले नियमानुसार प्रस्ताव बैठकमा लैजानु पर्ने अडान राखेका थिए ।

यता प्रमुख प्रशासकीय भुसालले भने मेयर पाण्डेयसँगको सहमतिमै बुटवलबाट फिर्ता जाने निर्णय गरेको बताउनुभएको छ । ‘सबै मान्छे सबै ठाउँमा फिट नहुन सक्छन्, त्यसैले पनि हामी सहमतिमै त्यो निर्णयमा पुगेका हौँ,’ भुसालले भन्नुभयो ‘विवाद नै भएको भन्न मिल्दैन, यसलाई सामान्य रूपमा नै लिँदा हुन्छ ।’ सबैको काम गर्ने तरिका फरक हुने बताउँदै उहाँले यसलाई ठूलो रूप नदिन आग्रह गर्नुभयो ।

यो विषयमा मेयर पाण्डेयले प्रष्ट कुरा गर्न चाहेनन् । ‘खै मलाई केही जानकारी छैन, को सँग के विवाद भएको, कसले छाडेको भन्ने विषय, जहाँबाट सूचना पाउनुभयो उतैबाट बुझ्दा ठिकै होला’, पाण्डेयले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया