रुपन्देहीमा ४ हजार १ सय २१ जनाले गराए सुरक्षित गर्भपतन
तिलोत्तमा ,विन्दु भट्टराई
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य रुपन्देहीमा मात्रै ४ हजार १ सय २१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । केही वर्ष यताको तथ्याङ्गलाई आधार मान्दा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ५ हजार ४ सय २०७९÷८० मा ४ हजार १ सय २१ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । गत आर्थिक वर्षभन्दा यो वर्ष केही घटेको देखिएको छ , तर २०८० को अन्त्यसम्म यो संख्या बढेर माथि पुग्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले अनुमान गरेको छ । २० वर्ष मुनिका किशोरी २७४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमा १६६ जनाको मेडिकल विधिबाट र ७७ जनाको सर्जिकलको माध्यमबाट गर्भपतन गराएको पाईएको छ । त्यस्तै २० वर्षभन्दा माथिका २ हजार ७ सय ५ जनाको मेडिकल विधिबाट र १ हजार ८ सय ३६ जनाले सर्जिकलको माध्यमबाट गर्भपतन गराएका छन् ।
पहिले सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन’ जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सुचना अधिकारी भेषराज रिजालले भन्नुहुन्छ ‘अहिले सूचीकृत स्वास्थ्य संस्थाहरु संख्या पनि बढी रहेको छ । त्यसकारणले गर्भपतन गराउनेको संख्या पनि बढी भएको हुन् सक्छ ।’ विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्ने पनि उहांले बताउनुभयो ।
रिजालले असुरक्षति रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्ने भएकाले गर्भपतन गर्नु पर्ने भएमा सुरक्षित रुपमा नै गर्नुपर्ने सुझाव दिनुभयो । ‘सकेसम्म त परिवार नियोजनको साधन प्रयोग गर्नु नै राम्रो हुन्छ । यदि अनईच्छित गर्भ रहेको अवस्थामा सुरक्षित गर्भपतन गर्नु पर्छ उहांले भन्नुभयो । रिजालका अनुसार जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेहरु किशोरीहरुको संख्या पनि बृद्धि हुँदै गइरहेको पाइएको छ । यो गंभिर विषय भएकोले यसतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो । ‘१५÷१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ,’ सूचना अधिकारी रिजालले भन्नुभयो । ‘गर्भपतन गराउने मध्य करिब ६ प्रतिशत २० वर्षमूनीका छन् । त्यस्तै सूचना अधिकारी रिजालले सुरक्षित गर्भपतनका साथसाथै असुरक्षित गर्भपतन पनि हुने गरेको बताउनुहुन्छ । ‘असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ,’ उहांले भन्नुभयो ‘तर त्यो गैरकानुनी भएका कारण गणनामा आउँदैन् । सरकारी सुचिकृत संस्था संस्थाहरुले गर्भपतन गराउनेको गोपनीयतालाई विशेष ध्यान त दिएको नै छ । तर, पनि विश्वास नपरेर असुरक्षित रुपमा गर्भपतन गराउने गरेको पाइन्छ ।’– उहांले भन्नुभयो ।
रुपन्देहीमा सुरक्षित गर्भपतन सेवाका लागि भनेर २९ वटा स्वास्थ्य संस्थालाई इजाजत दिईएको छ । जसमा समरीमाई,मर्चवार जस्ता पिछडिएका ठांउमा पहुंच विस्तारका लागि बढी जोड दिईएको रिजालको भनाई छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, गर्भपतन गराएमा गर्भवती महिलाको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणु (एआईभी) वा निको नहुने रोग लागेको अवस्थामा र भुण्रमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था भएमा स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया