तिलोत्तमा २०८० असार २५
रुपन्देही जिल्ला आसपासबाट मोटरसाईकल चोरीका घटना बढेको गुनासोसंगै प्रहरीले विशेष अपरेसन संचालन गरी एक महिनामा चोरी भएका १४ थान मोटरसाइकल सहित १२ जना अभियुक्त पक्राउ परेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी ईलाका प्रहरी कार्यालय बुटवलले अभियुक्तसहित मोटरसाईकलहरु सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा अत्यधिक मोटरसाईकल चोरीका घटना भएको बताउनुभयो। विशेष टोली खटाएर एक महिना अघिबाट अभियान चलाउँदा सफलता हात लागेको थापाले बताउनुभयो ।
पक्राउ पर्नेमध्ये ६ जना एउटै गिरोहको बाँकी २/३ जनाको समूहमा काम गर्ने रहेको थापाले भन्नुभयो । उनीहरुले सवारी साधनको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाडेर गरेको वहाँले दाबी गर्नुभयो । अझै पनि चोरीको धेरै सवारी साधन नभेटिएको र अनुसन्धान जारी हुदा ठुलै समूह बाँकी रहेको थापाले बताउनुभयो ।
थापाका अनुसार चोरीका सवारी साधनहरु गुल्मी, स्याङ्जा, बागलुङ, काठमाडौसम्म पुगेको हुदा सहकार्य गरी फिर्ता ल्याउन सफल भएको हो । पक्राउ परेका ब्यक्ति उपर सवारी साधन चोरी कसुरमा मुद्दा दर्ता भएर आवश्यक कानुनी प्रक्रिया अघि बढेको वहाँले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका वडा नं. ३, ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका ४३ वर्षीय सुनिल कुमार चौधरी, २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ का २६ वर्षीय सरोज थापा, २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा–६ का २४ वर्षीय दिपेश थापा, २५ वर्षीय हितेश राना, बाग्लुङ वरेङ गापा वडा नं. ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा नगरपालिका वडा नं. ४ का १८ वर्षीय आकाश नेपालीलाई सार्वजनिक गरेको हो । चोरी भएका साधनमा बढी बजाज पल्सरसहित सुपर स्प्लेडर र यमाहाका समेत रहेका छन् ।
तपाईको प्रतिक्रिया