00:00:00
स्थानिय

तिलोत्तमाद्धारा १७ वडाका ३७ किसानलाई झण्डै १० लाख बराबरको कृषि औजार वितरण

आइतबार असार १७, २०८०/ Sunday 07-02-23

तिलोत्तमा,बिन्दु भट्टराई  । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । नगरपालिकाले १७ वडाका ३७ जना किसानलाई ९ लाख ६६ हजार मुल्य बरावरको कृषी औजार उपकरण वितरण गरेको हो । कृषीमा प्रविधिको प्रयोग बढाउँदै उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ । 

५० प्रतिशत अनुदानमा साना किसानलाई जोत्न सहजताका लागि ८ वटा मिनी टेलर, वाली काट्न मिल्ने साथै झाडि फांड्नका लागि व्रस कटर ५,स्पिे्रयर १६(विषादि छर्न तथा मल घोलेर हाल्न प्रयोग गरिने औजार), महमदानी ७ थान,मैन बक्स १ थान औजार उपलब्ध गराएको छ । त्यसैगरी, नगरप्रमुख किसान कार्यक्रम अन्तर्गत वडा नं १४ को दुर्गानगरमा कार्यक्रम संचालन गरेको छ जसमा किसानलाई तरकारीको विउ,विषादि,विषदि छर्ने स्प्रेयर,धान काट्ने मेसिन,हाते ट्याक्टर, वजारमा जोख्न सजिलो हुने गरी जोख्ने औजार,सिंचाईको सुविधाका लागि वोरिङ्ग,पानी तान्ने मटर,डेलिभरी पाईप वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।  नगरले ३७ औजार वितरण गरेपनि यसबाट झण्डै ३ सय किसान लाभान्वित हुने भुसालको भनाई छ । 

भुसालले आधुनिकीकरणका लागि प्रविधिमा सहयोग गर्ने तर उत्पादनमा वृद्धि हुन नसके उपलब्धी नहुने भन्दै प्रविधिको प्रयोगका माध्यमबाट उत्पादन बढाउने उद्धेश्यले कृषि औजार वितरण गरिएको  बताउनुभयो ।  उहाँले गोरुले जोतेर खेती पाती गरिरहेका किसानहरुका लागि कृषिमा भित्रिएको यान्त्रिकरणले खेती प्रणलीमा सुधारमा सहयोग पुग्नेमा जोड दिनुभयो । 

तिलोत्तमा १२ का शिव पुजन चौधरीर्ले  मोहमदानी र स्पेयर पाउनुभएको छ । मोहदानी र स्प्रेयर पाएपछि अर्काको माग्न जाने झण्झटबाट मुक्त भएको चौधरीले बताउनुहुन्छ । ‘अर्काको माग्न जांदा झ्याउ मान्ने ,एक दिनको कामको लागि लगेको महदानी १ दिन ढिला भयो भने २ दिनको ज्याला दिनुपर्ने अवस्था थियो अव आफ्नो फुर्सदमा काम गर्न पाईने भयो खुसी लागेको छ चौधरीले भन्नुभयो । ” चौधरीलाई नगरपालिकाले गएको वर्ष ४ वटा आधुनिक मौरी घार दिएको थियो । उहांले मौरीघारलाई बढाएर १६ घार बनाउनुभएको छ । चौधरीले तरकारी खेती समेत गर्नुभएको छ । उहांले केही दिन अगाडि मात्र ३ दिनमा ७० केजी बोडी र ३ कुईण्टल टमाटर बिक्रि गरेको बताउनुभयो । 

त्यस्तै तिलोत्तमा ८ मा रहेको मिलन खाद्यन्न उत्पादन कृषक समुहका सीता पाण्डे पनि नगरपालिकाले दिएको हाते ट्याक्टर र स्प्रेयर पाएपछि समुहनै खुसी भएको बताउनुहुन्छ । ४२ जना रहेको उक्त समुहले हाल २० विगाहा भन्दा वढि क्षेत्रफलमा धान,गहुं मकै साथै तरकारी उत्पादन गर्दै आएको छ । ‘कृषकहरुको मनोवल बढाउने उद्धेश्यले नगरपालिकाले विभिन्न औजारहरु वितरण गरेको छ  धन्यवाद छ , उहांले भन्नुभयो ।” पाण्डेले असल किसान पहिचान गरेर कृषि औजार वितरण गर्न समेत नगरपालिकालाई सुझाव दिनुभएको छ । तिलोत्तमा १२ का सम्भु गौतम पनि कृषि सामाग्री पाएपछि खुसी लागेको बताउनुहुन्छ । उहांले  नगरपालिकाले कृषिमा लाग्ने कृषकका लागि समय समयमा ल्याउने कार्यक्रमले किसानलाई प्रतक्ष फाईदा पुगेको उल्लेख गर्नुभयो ।

कृषि पेशामा आवद्ध नगरभित्रका किसानको सहजताका अनुदानमा कृषि औजार वितरण गरेको नगरप्रमुख रामकृष्ण खांडले बताउनुभएको छ  ।  नगरपालिकाको साना कृषि औजार शिर्षकबाट तिलोत्तमा भित्रका सकृय कृषकलाई औजार वितरण गरिएको उपप्रमुख जगेशवरदेवी चौधरीले बताउनुभयो । उहांले कृषि औजारका लागि १७ वटै  वडामा सुचना गरिएको भएपनि आवश्यकताका आधारमा किसानलाई औजार वितरण गरिएको उल्लेख गर्नुभयो । 
 

तपाईको प्रतिक्रिया