00:00:00
राष्ट्रिय

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग १५ सांसद्को प्रश्नोत्तर

बिहीबार जेठ ४, २०८०/ Thursday 05-18-23

जेठ ४, काठमाडौं
   प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा १५ जना सांसद्ले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले आजदेखि महिनाको पहिलो हप्ता सांसद्ले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने जानकारी दिनुभयो । यी प्रश्नको प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा तत्काल जवाफ दिनुपर्नेछ । प्रश्नोत्तर कार्यक्रम आजदेखि लागु हुन लागेको उहाँले जानकारी दिनुभयो । जसअनुसार आज पहिलो दिन प्रधानमन्त्रीलाई प्रश्न सोध्नको लागि सांसद्हरूले आ–आफ्नो नाम टिपाइसकेको पनि उहाँले बताउनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया