00:00:00
राष्ट्रिय

पितृसत्ता समानताको बाधक

सोमबार बैशाख २५, २०८०/ Monday 05-08-23

तिलोत्तमा । बैशाख २४

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि  आर्थिक रुपमा सम्पन्नताको पहुंचमा पुर्याउनुपर्ने बताउनुभएको छ । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र  असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उहाँले बताउनुभयो । तिलोत्तमामा आइतबार आयोजित लुम्बिनी प्रदेशस्तरीय महिला मन्च २०८० मा बोल्दै पूर्वमुख्यमन्त्री गिरीले प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा पनि महिलाको भूमिका बढाउन सके दिगो विकास र न्यायमा टेवा पुग्ने सुझाउनुभयो ।

महिलावादी दृष्टिकोणबाट समाजको विश्लेषण र विकासमा सहजीकरण गर्न भन्दै महिला मानव अधिकार रक्षक सञ्जालसहितका महिलावादी संघसंस्थाले आइतबारदेखि तिलोत्तमामा महिला मञ्च कार्यक्रम आयोजना गरेको अध्यक्ष डा. रेनु अधिकारीले बताउनुभयो । उहाँले अब समानताको मुद्धा चलाउन आवश्यक रहेको भन्दै पितृसत्ता समानताको बाधक भएको उल्लेख गर्नुभयो । अधिकारीले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेसम्म समानताको नारा सफल नहुने बताउनुभयो । उहांले केही समय थाकेका पाईला फेरी हराएको आन्दोलन खोज्न अगाडि बढेको दावी गर्नुभयो  ।  अधिकारीले यो कार्यक्रामको ढांचा र सहभागिताले पनि प्रष्ट पार्न सकेको बताउनुभयो । 

न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता ः सामाजिक रूपान्तरणसहितको दिगो विकासमा निश्चितता भन्ने नारासहित महिला मञ्चले आयोजना गरेको कार्यक्रमको नवनिर्वाचित जनप्रतिनिधि महिलाहरूलाई महिलावादी दृष्टिकोण र त्यसको महत्वबारे धारणागत स्पष्टता ल्याउँदै सहकार्यको वातावरण निर्माण गर्नेे लक्ष्य रहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।  उक्त कार्यक्रमलाई हराएको महिला आन्दोलनलाई पुन जगाउने कार्यक्रमको रुपमा लिन समेत आग्रह गरिएको छ । कार्यक्रम सोमबारसम्म चल्नेछ । 
 

तपाईको प्रतिक्रिया