00:00:00
स्थानिय

तिलोत्तमाको मुख्य सडकमा फ्रि वाईफाई

सोमबार बैशाख ११, २०८०/ Monday 04-24-23

तिलोत्तमा २०८० बैशाख ११

    लुम्बिनी प्रदेश र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत बुटवल बेलहिया सडकखण्ड तिलोत्तमाको योगिकुटीदेखि कोटिहवासम्म फ्रि वाईफाई जडान भएको छ ।  वाईफाईको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवि चौधरीले सोमबार उद्घाटन गर्नुभएको छ ।

योगिकुटिदेखि कोटहिवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइसहरु जडान गरिएको नगरपालिका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालले जानकारी दिनुभयो । एक ठाउँमा कनेकशन गरेपछि सो सडकखण्ड भरि वाईफाईले काम गर्ने ढकालले बताउनुभयो । एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेता पनि अहिले तत्कालको लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक भने चलाउन नमिल्ने सुचना प्रविधि उपशाखाका प्रमुख ढकालले बताउनुभयो।

कनेक्ट गर्ने वित्तिकै एउटा हट स्पोट खुल्ने त्यसलाई लगइन गरेर इन्टरनेट चलाउन सकिने ढकालको भनाइ छ । साथै नगरपालिका भित्रका व्यवसायहरु के के छन् त्यसको सम्पूर्ण विवरण र तिलोत्तमको सबै विवरण जेठ मसान्त भित्रमा वाईफाई खोले पछि हेर्न सक्ने गराइने ढकालले बताउनुभयो  । वाईफाई जडान गर्दा करिब ८५ लाख खर्च लागेको प्रमुख वहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले अहिले सूचना प्रविधिको माध्यमबाट धेरै कुराको जानकारी लिन सकिने भएकाले सबै नागरिकलाई प्रविधिमैत्री बनाउनु पर्ने बताउनुभयो । पहिलो चरणमा मुख्य राजर्मागमा वाईफाई जडान गरिएको र नगरका भित्रि सडक, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा पनि जडान गर्ने योजना रहेको खाँणले बताउनुभयो । यस्तै उपप्रमुख चौधरीले इन्टरनेटको माध्यमबाट विश्व हेर्न सकिने भएकाले यात्रा गर्ने आमनगरिकको लागि सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया