नेपालमा मृत्युका कारणहरूमध्ये वायु प्रदूषण चौथो ठूलो कारण
बैशाख ७, काठमाडौं
नेपालमा मृत्यु हुने विभिन्न कारणहरूमध्ये वायु प्रदूषण चौथो ठुलो कारण रहेकोविश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनकाअनुसार वायु प्रदूषणका कारण विश्वमा बर्सेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा भने बर्सेनी ४० हजार मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्टमा उल्लेख गरिएको छ ।
हावाको प्रदूषणले बालबालिका तथा ज्येष्ठ नागरिकलाई अरुलाईभन्दा बढी नकरात्मक असर पार्छ । यसले मुटु, फोक्सो अनि क्यान्सरका बिरामी बढ्नुका साथै स्वस्थ व्यक्तिसमेत बिरामी पर्ने सम्भावना धरै हुने डाक्टरहरू बताउँछन् ।
काठमाडौँमा धुँवाभन्दा पनि धुलोको प्रदूषण बढी रहेको छ । हावामा ५ माइक्रोनभन्दा सानो धुलोको कण रहेकाले सिधै फोक्सोमा पुग्ने हुँदा फोक्सोमा जालो पर्ने, दमलगायत दीर्घरोगलाई बढाउँछ । यस्ता समस्याबाट बच्न आफू वरपरको वातावरण सफा राख्ने, प्रदूषण बढी भएको समयमा घर बाहिर ननिस्कने तथा निस्कनै परे एन ९५ मास्क र चस्मा लगाउनुपर्ने छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेलले बताउनुभयो ।
वायु प्रदूषण बढ्दै जाँदा श्वासप्रश्वाससँग सम्बन्धित समस्यासँगै आँखा पोल्ने, बिझाउने, रातो हुने, आँशु आउने, आँखाको केही भाग सुन्निनेलगायत समस्या बढेको छ । आँखा रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलले आँखामा पानी हालेर सफा गर्न नहुने र अस्पताल गएर जँचाउन सुझाव दिनुभयो ।
तपाईको प्रतिक्रिया