बिन्दु भट्टराई,२६ चैत
सबैको बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संस्थाको स्थापना दिवसको अवसरमा शनीबारदेखि सुरु गरेको सप्ताहब्यापी कार्यक्रम जारी छ । आईतबार दोस्रो दिन पहिलो र दोस्रो चरण गरी मणिग्रामका छुट्टाछुट्टै स्थानका जेष्ठ सदस्यहरुलाई सम्मान गरी मनाएको हो । संस्थाले आफ्नो स्थापना दिवस सामाजिक कृयाकलापसंगै जोड्दै मनाउने निर्णय गरेको थियो । सोहि अनुरुप संस्थाका जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै अर्थविज्ञ तथा संस्थाका सल्लाहकार कृष्णप्रसाद अर्यालले आजका युवापुस्तामा सामाजिक र मानविय चिन्तन कम भएको ,आदर सत्कारको संस्कार हराउंदै जान लागेको यथार्थतालाई स्वीकार्दै मै जान्ने मै सुन्ने खालको भावना युवामा हावि भएकोले यस्ता कार्यक्रमले एक खालको संस्कारको पुस्ताहस्तान्तरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहांले जेष्ठ नागरिकमा भएको अनुभव ज्ञान सिप आर्जनका लागि आजका युवाले निकै समय खर्चिनुपर्ने अवस्था सृजना भएकोले जेष्ठ नागरिकका कुरा सुन्न र मनन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै संस्थाका अध्यक्ष भरत भुसालले सप्ताहब्यापी रुपमा गरिएका हरेक कार्यक्रमले जोकोहीलाई सामाजिक तथा मानव विकासका लागि प्रेरणा दिन सक्नेमा विश्वास ब्यक्त गर्नुभयो । भुसालले सहकारीहरु संकटमा फसे भन्नेहरुलाई पनि सहि नियतले चलेका सहकारी कुनै हालतमा संकटमा छैनन् भन्नका लागि यो सप्ताहब्यापी कार्यक्रमले प्रभावकारी भुमिका खेल्न सक्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । अफवाहका पछाडि नलाग्न समेत उहांले आग्रह गर्नुभयो । कस्ता सहकारीबाट सदस्य ठगिएका छन् ? सहकारीको खास अवस्था अध्ययन नगरी सचारमाध्यमबाट समाचार संप्रेषण नगर्न समेत भुसालको आग्रह रहेकोे छ ।
संस्थाका उपाध्यक्ष चुरामणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि संस्थाका संस्थापक सल्लाहकार खुमप्रसाद थापा,सचिव देवानन्द पाण्डे लगायतले सवै सहकारी विश्वसनीय नहुने र केही सहकारीका कारण राम्रा सहकारीले पनि बदनामी भएको भन्दै बुझेर मात्र सदस्य बन्न आग्रह गर्नुभयो ।
संस्थाले तिलोत्तमाका फरक फरक दिनमा गरी जम्मा १८ जना ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिक सदस्यलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव देवानन्द पाण्डेले बताउनुभयो । जसअन्तर्गत तेस्रो दिन सोमबार पनि भलबारीमा जेष्ठ सदस्यता कार्यक्रम हुने अध्यक्ष भुसालले जानकारी गराउनुभएको छ ।
तपाईको प्रतिक्रिया