बिन्दु भट्टराई,२४ चैत
तिलोत्तमा नगरपालिकामा उत्कृष्ट २० उद्यमीहरू बिहीबार सम्मानित भएका छन् । नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतीकरण कार्यक्रम अन्र्तगत चौथो चरणबाट तिलोत्तमा नगरपालिकामा घोषित उत्कृष्ट २० मा छनौटमा परेका उद्यमीहरुलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा सम्मानितहरुको तर्फबाट उद्यमी दुर्गा भण्डारीले घरमा दुध खानका लागि पालिएको एउटा गाईबाट अहिले व्यावसायिक गाईपालन गरेको अनुभव सुनाउनुभयो । अहिले ५० वटा गाई पालेको र रोजगारीको लागि विदेश जानुभएका श्रीमानलाई फर्काएर व्यवसायमा जोड्न सफल भएको उहांँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खांडले महिलालाई आयमुलक क्षेत्रमा लगाउने र परनिर्भरतामा कमि ल्याउने उद्धेश्ले सुरु गरिएको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला आर्थिकरूपमा सक्षम हुने हो भने हिंसा पनि कम हुने दाबी गर्नुभयो ।
त्यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले नगरभित्रका महिला उद्यमीहरूका लागि दायित्व परियोजनाले नगरउपप्रमुख कार्यक्रम सञ्चालन गरी नगरमा उद्यमशिलता बढाउनका खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
सञ्चारगृहका तर्फबाट तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले घरभित्रका महत्वपूर्ण तर मुल्य नभएका कामबाट बाहिर निस्किएर महिला अर्थ उत्पादनसँग जोडिन खोज्नु सकरात्मक भएको भन्दै महिला नयाँ सोंचबाट अर्थपूर्ण मूल्यको खोजीमा रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं.६का अध्यक्ष गणेश पाठक,नगरकार्यापालिका सदस्य राधा शाही,महिला तथा बालबालिका शाखा प्रमुख संझना भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
तिलोत्तमा नगरपालिकाभित्र घोषित साना र मझौला प्रकृतिका २० उद्यमीहरूबाट प्रतिष्पर्धात्मक रूपमा सीप, उद्यमी, क्षमता बजार र नेतृत्वको आधारमा १ जनालाई उत्कृष्ट उद्यमीको रूपमा पुरस्कृत गरिने दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया