00:00:00
खेलकुद

लुम्बिनीमा भोली ‘अन्तर्राष्ट्रिय पिस म्याराथन’ प्रतियोगिता हुने

बुधबार चैत २२, २०७९/ Wednesday 04-05-23

चैत्र २२, रुपन्देही
  अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर भोली बिहीबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ हुँदैछ ।  लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा विकास र शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । 

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको पनि उहाँले बताउनुभयो । उहाँकाअनुसार म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहान ७ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट अगाडि समापन हुनेछ । प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

यो वर्षको प्रतियोगिता समापनसँगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष दुवैले जनही १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद प्राप्त गर्ने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
 

तपाईको प्रतिक्रिया