सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन विधेयक विषयमा छलफल
चैत १९, रुपन्देही
बिन्दु भट्टराई
एड्भोकेसी फोरम नेपालले आइतबार प्रतिनिधि सभामा पेश भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन विधेयकका विषयमा छलफल गरेकोे छ ।
भैरहवामा आयोजित छलफललाई सहजीकरण गर्दै एडभोकेसी फोरम नेपालका इन्दिरा आचार्यले विधेयकमा कतिपय प्रावधानहरूमा गम्भीर त्रुटीहरू रहेको सच्याउँदै विधेयक पारित गर्नुपर्ने बताउनुभयो । एउटा आयोगको विधेयकले कम्तिमा ४ बर्ष काम गर्न पाउने गरी नियम बनाउनुपर्ने उहाँले बताउनुभयो । ऐनमा नभएको तर विधेयकमा छ्लफल भएका विषयहरू नीतिगत सिफारिस गर्नुपर्नेमा राज्यको ध्यानकेन्द्रित गर्नुपर्ने उहाँले औंल्याउनुभयो ।
मानवअधिकार एलाइन्सका प्रदेश कोषाध्यक्ष तथा तिलोत्तमा टेलिभिजन एवं रेडियो लुम्बिनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले द्धन्दपीडितका समस्या साझा समस्या भएको बताउँदै पीडितको न्यायका लागि व्यक्तिगत तथा संस्थागत रूपमा तयार रहेको उल्लेख गर्नुभयो ।
नमुना एकीकृत विकास परिषद्का अध्यक्ष सीता भट्टराईले कविता प्रस्तुत गर्दै द्धन्द पीडितका कथा व्यथासँग नजिक रहेकोले न्यायका लागि आफूपछि नपर्ने बताउनुभयो । न्यायका लागि द्धन्द पिडित समाजका अध्यक्ष चुरामणि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा ढकालले आफ्नो परिवारको बलिदानले मुलुकमा आएको परिवर्तनलाई भुल्न नहुने सुझाव दिँदै राज्यबाट उपेक्षा गरिएको गुनासो गर्नुभयो ।
छलफलपछि संसदमा पुगेको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकका त्रुटीहरू सच्याउन अपिल गर्दै प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
एड्भोकेसी फोरम नेपाल,ओरेक नेपाल,मानवअधिकार एलाईन्स,नमुना एकीकृत विकास परिषद्,महिला अधिकार रक्षक सञ्जाल,तरङ्गीनी फाउण्डेसन लगायतका संघ संस्थाहरूको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझ्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शीघ्र प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया