चैत १६, काठमाण्डौ
कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ ।
नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको हिजो ल्हासामा बसेको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको छ ।
बैठकपछि ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासले दुवै पक्षबीच चैत १८ गते अर्थात् पर्सिदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको जानकारी दिएको छ । यसैगरी, तातोपानी नाकामा एक महिनापछि वैशाख १८ गतेदेखि दुईतर्फी व्यापार र आवागमन नियमित हुनेछ ।
बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा सीमापार व्यापार र नागरिकको आवतजावतलाई अधिकतम स्तरमा सुरु गर्ने, स्थल बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ उपाय खोज्ने विषयमा छलफल भएको थियो । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ ।
कोभिड–१९ को प्रतिक्रियामा दुवै देशले हालै अपनाएका नीतिलाई मध्यनजर गर्दै दुवै पक्षले नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति गरेका छन् ।
तपाईको प्रतिक्रिया