इन्जिनियर लाइसेन्स परीक्षामा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण
चैत १४, काठमाडौं
इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना मात्रै पास भएका छन् । मंगलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । परीक्षामा सहभागी १ हजार ९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम शाहीले बताउनुभयो । इन्जिनियरसम्बन्धी २० विधामा चैत १३ र १४ गते लिएको परीक्षामा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको उहाँले बताउनुभयो ।
इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो । उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले जनाएको छ ।
इन्जिनियरिङ उत्तीर्ण भई इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको अध्यक्ष शाहीले बताउनुभयो । अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्न काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।
तपाईको प्रतिक्रिया