00:00:00
स्थानिय

कांग्रेसका डिल्ली चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेस

आइतबार चैत १२, २०७९/ Sunday 03-26-23

चैत १२, रुपन्देही
   लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको हो । चौधरीले माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्नुभएको हो ।

माओवादी केन्द्रसहितका दलहरूले सरकार छाडेर समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्नुभएको छ । तर अल्पमतमा परेपछि विश्वासको मत लिन एक महिना समय हुँदाहुँदै पनि मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्री गिरीले प्रदेशबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि उहाँले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गिरी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू माओवादीका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आजै राजीनामा बुझाउनुभएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४र४, जसपा, लोसपा र जनमत पार्टीका ३र३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना प्रदेश सभा सदस्य रहेका छन् ।
मुख्यमन्त्री गिरीलाई एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक सुविधा हुँदाहुँदै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न दबाबसहितको पत्र बुझाएपछि संविधानको प्रावधानविपरीत हतार गरेर नयाँ सरकार बनाउन लागेको भन्दै केहीले टिप्पणी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया