साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भुटान ५–० गोलले पराजित
चैत ९, काठमाडौं
नेपाली महिला टोलीले साफ यू १७ महिला च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै पहिलो जित निकालेको छ। बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो अन्तरले हराएको हो।
नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपालले भुटानलाई हराएर २ खेलमा ३ अङ्क जोडेको छ । सोमवार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो । पहिलो खेलमा भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ । यस्तै, नेपालले अर्को हप्ताको मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपाल तालिकाको चौथो स्थानमा छ।
तपाईको प्रतिक्रिया