परासी, ६ चैत
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई गृह जिल्लामा स्वागत र सम्मान गरिएको छ । यूएईलाई ९ रनले हराउँदै नेपाललाई विश्वकप छनोटमा प्रवेश गराएपछि सोमबार गृह जिल्ला नवलपरासी पुगेका पौडेललाई जिल्ला खेलकुद विकास समिति, रामग्राम जेसिजलगाएतका संघसंस्थाहरुले सोमबार परासीमा स्वागत गरेका हुन् ।
कप्तान पौडेल बर्दघाट नगरपालिका– १४ बुद्धवस्ती निवासी हुनुहुन्छ । कार्यक्रमको आयोजना गरि पौडेललाई स्वागत एंव सम्मान गरेका संघ संस्थाहरुले क्रिकेटमार्फत देशलाई विश्वमा चिनाउन सफल भएको भन्दै विश्वकप छनौट यात्राको शुभकामना व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रममा कप्तान पौडेलले जितमार्फत देशको शिर उँचो भएको बताउँदै आगामी खेल अझ उत्कृष्ट रुपमा खेल्ने बताउनुभयो ।
पौडेललाई मंगलबार उहाँकै गृह पालिका बर्दघाट नगरपालिका र त्यहाँ रहेका विभिन्न संघसंस्थाहरुले पनि सम्मान र स्वागतको कार्यक्रमको आयोजना गरेका छन् । जितसँगै नेपाल अब जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ ।
तपाईको प्रतिक्रिया