राष्ट्रिय क्रिकेटर मल्ललाई बुटवलमा ५० हजार नगदसहित सम्मान
चैत ६, रुपन्देही
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ । बुटवल–११, देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गर्नुभएको हो।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लका आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलको प्रतिष्ठा बढेको भन्दै आगामी दिनमा अझ प्रगति र मेहनत गर्न शुभकामना दिनुभएको थियो ।
प्रशिक्षक शक्ति गौचनले बुटवलले सम्मान गरेर खेलक्षेत्रको हौसला बढाएको बताउनुभएको थियोे। खेलाडी मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया