00:00:00
स्थानिय

डोजर चलेपछि मंगलापुर–कान्छीबजार सडक बिस्तार विवादमा, स्थानिय आन्दोलित

शुक्रबार चैत ३, २०७९/ Friday 03-17-23

तिलोत्तमा २०७९ चैत्र ३

  तिलोत्तमा नगरपालिकाको मंगलापुरदेखि कान्छीबजार सडक खण्ड बिस्तार तथा निर्माणमा विवाद उत्पन्न भएको छ । स्थानीय जनताको आग्रहलाई बेवास्ता गरि नगरपालिकाले एकतर्फी रुपमा सडक निर्माण कार्य अगाडि बढाएको भन्दै स्थानिय आन्दोलित भएका हुन् । सडक बिस्तार पीडित संघर्ष समिति नै गठन गरेर उनीहरुहरुले सडक बिस्तारको विषयमा बिहीबार बृहत भेला तथा छलफल कार्यक्रम आयोजना गरि आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले बिहिबार दिउँसो सडक निर्माणमा प्रयोग गर्ने डोजर समेत एकछिन चल्न दिएनन् ।

    सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक प्रदिप थापाका अनुसार आफुहरु विकास विरोधी नभएको तर नगरपालिकाले सरोकारवाला स्थानियको कुरा नसुनी मनोमानी ढंगबाट डिपिआर भन्दा बाहिर गएर सडक बिस्तार थालेको, करिब साठि घरधुरी र विभिन्न संघ संस्थाको घर, टहरा लगायत भौतिक संरचनामा क्षति पुग्ने गरि निर्माण कार्य अगाडि बढाएर आफुहरुको उठीबास गर्न खोजेको आरोप लगाएका छन् ।

  संघर्ष समितिले बिहिबार सेमराबजारमा आयोजित छलफलमा नगरप्रमूख रामकृष्ण खाँण लगायत जनप्रतिनिधिलाई बोलाइएको तर छलफलमा आउनुको सट्टा छलफल सुरु हुनु केहि घण्टा अगाडि प्रहरीे सहित नगर प्रमूख र उपप्रमूखको उपस्थितिमा सेमरा बजार स्वास्थ चौकी र सेमरावजार माध्यमिक विद्यालयको प्राङ्गणको पर्खाल डोजर लगाएर भत्काउने कार्य गर्नु नगरपालिकाको दादागिरि भएको थापाले बताउनुभयो ।

सडक बिस्तारबाट पीडित मध्येका रक्षा तीवारीका अनुसार बिस्तारित ४३ फुट चौडा सडक खण्डको करहिया चोक देखि सेमराबजार दर्शनटोल सम्मको खण्डमा मात्रै समस्या हो । यो खण्ड बाहेक अन्य खण्डमा साविक कायम सडकको बीच सडक भागबाट नापेर ४३ फुट कायम गरि निर्माण कार्य अघि बढेको बताउनुभयो ।

  सडक बिस्तारबाट पीडित मध्येका एक सेमरा बजार निवासी यम बहादुर थापाका अनुसार भैलोभुज नहरको चौडाई भाग ३० फुट कायम रहेकाले यसलाई दश फुट बाटोको दक्षिण सारेर सडक निर्माण गर्नुपर्ने बताउनुभयो । कुलो नहरलाई करिब दश फुट सारेर सडक बिस्तार गर्न ठाउँ पनि भएको र कुलो सार्दा कसैलाई पनि असर नपर्ने भएकाले नगरपालिकालाई सोही अनुसार सडक निर्माण अगाडि बढाउन अनुरोध गर्दा नगरले छलफलमा समेत नबसी उल्टै डोजर चलाएर सेमराबजार वासीमाथि अन्याय र आतङ्क सिर्जना गरेको गुनासो पोखे ।

  सडक बिस्तार पीडितहरुका अनुसार यस सडक बिस्तारबाट शिब मन्दिर, सिद्धार्थ गुम्वा, विद्यालय, स्वास्थचौकी लगायत सेमराबजार उत्तरतर्फ रहेका अधिकांश घर तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै दर्जनौ परिवार विस्थापित हुनुपर्ने बताए । स्थानीय टोल विकास, समाजसेवी तथा राजनीतिक दल तथा सरोकारवालाहरुका बीचमा भएको छलफलमा सहभागीहरुले स्थानियलाई विचल्लीमा पारेर गरिने विकासले कसैको भलो नहुने निष्कर्ष निकाल्दै समस्याको समाधान गर्ने विकल्प हुँदाहुँदै पनि तिलोत्तमा नगरपालिकाले एकतर्फी निर्माण कार्य अगाडि बढाउनु जनमतको विपरित हुने बताए ।

 यता तिलोत्तमा नगरपालिकाका प्रमूख रामकृष्ण खाँडले भने सडक बिस्तारको क्रममा कसैलाई पनि मर्का नपर्ने गरि कार्य अगाडि बढेको बताउनुभयो  । त्यसैले गर्दा सडक निर्माण कार्य नरोकिने बताउदै खाँड्ले सडक बिस्तारबाट प्रभावित केही घरधुरीले मूआव्जा समेत लिइसकेको र वल्र्ड ब्याङ्कको सहयोगमा सडक बिस्तार चलिरहेकोले यसलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया