हरि शर्मा,परासी
२२ फागुन २०७९
जिल्ला समन्वय समिति नवलपरासीको भवन निर्माण हुने भएको छ । भवनको एक कार्यक्रमका बीच जिसस प्रमुख भगौती यादवले सोमबार शिलान्यास गरेर निर्माण कार्य अघि बढाइएको हो ।
आफ्नै भवन नहुँदा समन्वय समितिको कार्यालय ६० वर्षदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा बस्दै आएको थियो । जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण हुने भएपछि अहिले जिसस भाडामा बस्दैं आएको छ ।
तत्कालीन जिल्ला विकास समितिले खरिद गरेको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–४ मा रहेको कुल २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले बताउनुभयो । दुई तले भवन निर्माण गर्न कुल सात करोड ९० लाखमा निर्माण कम्पनीलाई जिम्मेवारी दिएर काम अघि बढाइएको खड्काले भन्नुभयो ।
नवलपरासी जिल्ला विभाजन हुनुपूर्व तत्कालीन जिविस कोषमा साढे सात करोड रुपैयाँ रहेको थियो । आन्तरिक राजश्व बाँडफाँडबाट प्राप्त भएको उक्त रकम भवन निर्माणका लागि बचत गरेर राखिएको खड्काले बताउनुभयो । सोही रकमबाट भवन निर्माण हुने र अपुग रकम स्थानीय पालिकाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय अधिकारी खड्काले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया